पर्यापर्यटन क्षेत्रको विकासमा अगाडी बढ्दै नन्दन वन 

२०८० भदौ १५ शुक्रबार १७:५३:०० मा प्रकाशित


गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नम्बर ६, ८ र ९ मा कार्यक्षेत्र रहेको नन्दन सामुदायिक वन पर्यापर्यटन क्षेत्रको विकासमा अगाडी बढेको छ ।

वन क्षेत्र भित्र धबाहा ताल निर्माणदेखि अन्य कार्यक्रममा वनले काम गरेको नन्दन सामुदायिक वनका सचिव कमला शर्माले बताउनुभयो । वनको २५ औँ बार्षिक साधारण सभामा बोल्दै शर्माले सामुदायिक विकास र सामाजिक क्षेत्रमा पनि वन सक्रिय भएर लागेको बताउनुभयो ।

वनका कोषाध्यक्ष वेलप्रसाद पौडेलले वनको संरक्षणका लागि आवश्यक पर्ने बजेट प्रदेश र केन्द्रमा पनि पहल गरिएको बताउनुभएको छ । 

गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले जलवायु परिवर्तनका कारण पछिल्लो समय विभिन्न समस्या देखिन थालेको बताउँदै यसलाई कम गर्न सामुदायिक वनको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । पर्यटकीय क्षेत्रमा नन्दन वनले गरेको कामको प्रशंसा गर्दै उहाँले यसलाई निरन्तरता दिन आग्रह गर्नुभएको छ । 

नन्दन सामुदायिक वनका अध्यक्ष वालकृष्ण गौडेलले उपभोक्ताको चाहना र आवश्यकता अनुसार काठ वितरण गर्न कठिन भएको बताउनुभएको छ । यो समस्या नन्दनमा मात्र नभई हरेक सामुदायिक वनमा रहेको र यसलाई समाधान गर्नका लागि पहल भएको उहाँको भनाई छ । वन विकास र संरक्षणमा सबै एक हुन पनि अध्यक्ष गौडेलले आग्रह गर्नुभएको छ । 

कार्यक्रममा वनका उपाध्यक्ष बालकृष्ण शर्माले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा विभिन्न वडाका जनप्रतिनिधी, वनका पदाधिकारी, खानेपानी संस्थाका पदाधिकारी, समाजसेवी, उपभोक्ता लगायतको उपस्थिति रहेको थियो ।