गैँडाकोटबाट अख्तियारमा दुई उजुरी, नवलपुरका ५२ वटा उजुरीमाथी छानबिन चल्दै
गैँडाकोट । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलमा गैँडाकोटबाट दुई वटा उजुरी परेका छन् । चालु आर्थिक वर्ष २०८०/८१ को दुई महिनामा गैँडाकोटका दुईवटा उजुरी परेका हुन् । एउटा शिक्षासँग सम्बन्धित र अर्को स्थानीय तहसँग सम्बन्धित रहेको छ ।
गएका आर्थिक वर्ष गैँडाकोटका ४ वटा उजुरी परेका थिए । जसमध्ये दुई वटा फस्र्यौट भएका छन् भने चालु आर्थिक वर्षमा समेत दुईवटाको छानबिन चलिरहेको छ । यो हेर्दा हाल गैँडाकोटका ४ वटा उजुरीमाथी छानबिन चलिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलका सूचना अधिकारी, उपसचिव भेषराज रिजालले जानकारी दिनुभयो ।
चालु आर्थिक वर्षको दुई महिनामा मात्रै नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लाका २१ वटा उजुरी परेका छन् । सूचना अधिकारी रिजालका अनुसार गत आर्थिक वर्षका फस्र्यौट हुन बाँकी ४० र यो वर्षका २१ गरी ६१ उजुरीमाथी अनुसन्धान चलेकोमा अहिले ९ वटा फस्र्यौट भइसकेको छ । जिल्लाका ५२ वटा उजुरीमाथी छानबिन चलिरहेको छ । गत आर्थिक वर्ष मात्रै नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लाका ९३ वटा उजुरी परेका थिए । जसमध्ये ५३ मुद्दा फस्र्यौट भएको थियो भने ४० उजुरी चालु आर्थिक वर्षका लागि सारिएको थियो ।
जिल्लाबाट परेका उजुरीहरुमा स्थानीय तहमा बेथिति बढेको, कम काम गरेर बढी भुक्तानी लिएको, कार्यक्रम नै नगरेको, शिक्षामा अनियमितता, विद्यार्थी दिवा खाजामा अनियमितता, आफ्नो मान्छे नियुक्ति गरेको, शिक्षक सरुवा मनपरि गरेको, भूमि कब्जा गरेको, जग्गा अर्कैको नाममा पास गरेको लगायत छन् ।
बुटवल स्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी र प्युठान गरी ८ जिल्ला हेर्दै आएको छ । आयोगले ईमेल, टेलिफोन, लिखित निवेदन, फेसबुक, भाइबरबाट समेत उजुरी लिने व्यवस्था मिलाएको छ भने वेबसाइट, प्रमुख जिल्ला अधिकारी, मोबाइल एप, राष्ट्रिय सतर्कता केन्द्र, समाचार पत्र, हुलाक सेवा र हेलो सरकार मार्फत आउने उजुरी वा त्यस्ता स्रोतबाट आएका सूचनालाई आधार मान्ने गरेको छ । नागरिक सचेतना वृद्धि नभएसम्म सुशासन कायम हुन नसक्ने जनाउँदै रिसिइबी भन्दा पनि तथ्यमा रहेर उजुरी गर्न आयोगले आग्रह गरेको छ ।