विकूको रक्तदान कार्यक्रममा ९१६ युनिट रगत सङ्कलन, आज ५३७ जनाद्वारा रक्तदान
गैँडाकोट । विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३४ औं वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा आज ५३७ जनाले रक्तदान गरेका छन् ।
पूजा सेवा केन्द्र टाँडी चितवन, केन्द्रीय सेवा केन्द्र परिसर विजय विकास स्रोत केन्द्र गैँडाकोट र कावासोती सेवा केन्द्र कावासोती गरी तीन स्थानमा एकैपटक रक्तदान कार्यक्रम गरेको हो । टाँडीमा ८१ जना, गैँडाकोटमा २१५ र कावासोतीमा २४१ गरी ५३७ जनाले रक्तदान गरेको संस्थाका व्यवसाय विकास विभाग प्रमुख मदन सापकोटाले जानकारी दिनुभयो ।
यसअघि पहिलो चरणमा गत शनिबार २ स्थानबाट गरेको बृहत् खुल्ला रक्तदानमा हर्कपूर सेवाकेन्द्र र चोरमारा सेवाकेन्द्रबाट एकैसाथ गरी ३७९ युनिट रगत सङ्कलन भएको थियो । हालसम्म पाँच स्थानमा भएको रक्तदान कार्यक्रममा गरी ९१६ युनिट रगत सङ्कलन भएको छ ।
पूजा सेवा केन्द्र टाँडी चितवनमा विकूका उपाध्यक्ष कालिदास गौडेलको अध्यक्षता एवं रत्ननगर नगर प्रमुख यादवप्रसाद पाठकको प्रमुख आतिथ्यमा भएको थियो । त्यस्तै केन्द्रीय सेवा केन्द्र परिसर विजय विकास स्रोत केन्द्र गैँडाकोटमा विकूका अध्यक्ष प्रेमप्रसाद सापकोटाको अध्यक्षता एवं गैँडाकोटका आर्थिक विकास शाखा प्रमुख देवेन्द्र गौतमको प्रमुख आतिथ्यमा भएको थियो । कावासोती सेवा केन्द्र कावासोतीमा विकूका सचिव गोविन्द कँडेलको अध्यक्षता एवं कावासोती नगर उप प्रमुख फूलकुमारी थनेतको प्रमुख आतिथ्यमा भएको थियो ।
विकू बचत तथा ऋण सहकारी संस्था यस क्षेत्रमा नै सर्वाधिक रक्त संकलन गर्ने संस्थाका रुपमा परिचित छ । पछिल्ला वर्षहरुमा धेरै रक्त संकलन गर्न सहयोग गरेकोमा सम्मान समेत भइसकेको छ ।
संस्थाले आफ्नो ३४ औँ वार्षिकोत्सवका अवसरमा सोमबार नारायणगढ, कावासोती र टाँडीमा ट्राफिक सचेतना त्यसैगरी वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । भोली सरसफाई तथा वृक्षरोपण कार्यक्रम रहेको छ । त्यसैगरी कर्मचारी स्तरीय विभिन्न खेलकुद कार्यक्रम गर्दैछ । भाद्र ५ गते वार्षिक उत्सव विशेष समारोह तथा समापन कार्यक्रम र साँझ दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद पौडेलले जानकारी दिनुभयो ।
वि.सं. २०४८ सालमा दैनिक ५० पैसाबाट बचत संकलन गर्दै सदस्य र समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणमा अग्रणी भूमिका निर्वाह गर्दै आएको विकूले हाम्रो लक्ष्य खुसी एवम् स्वस्थ सदस्य भन्ने अभिप्रायका साथ अघि बढिरहेको छ ।