विजय सामुदायिक, बालविकास र शाईनिङका विद्यार्थीहरुलाई विदाई तथा स्वागत
गैँडाकोट । विजय सामुदायिक शिक्षा सदन, बालविकास ईङ्गलिस बोर्डिङ स्कुल, शाईनिङ आवाशिय माध्यमिक विद्यालयबाट कक्षा १२ उत्तीण विद्यार्थीहरुलाई विदाई तथा विजय सामुदायिक शिक्षा सदन (युनाईटेड तक्षशिला) मा नयाँ विद्यार्थीहरुलाई स्वागत गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट नगर शिक्षा समिति अध्यक्ष समेत रहनुभएका गैँडाकोट नगर प्रमुख मदनभक्त अधिकारीले यस क्षेत्रकै शैक्षिक व्यक्तित्वहरुको सामुहिक प्रयासले स्थापना भएको संस्थाले गुणस्तरीय शिक्षा दिनेमा आफु विश्वस्त रहेको बताउनुभयो । साथै उहाँले विदाइ भएका विद्यार्थीहरुको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
गैँडाकोट २ नारायणी नदी किनार स्थित नारायणी रिसोर्टमा भएको कार्यक्रममा चर्चित गायिका तिर्सना गुरुङ र द कोलाब ब्यान्डको प्रस्तुती समेत रहेको थियो । कार्यक्रमको अध्यक्षता शाइिनिङका कक्षा १२ मा अध्ययनरत हिमाल सापकोटाले गर्नुभएको थियो ।
विजय सामुदायिक शिक्षा सदन (युनाईटेड तक्षशिला) का अध्यक्ष खेमराज सापकोटाले विद्यार्थी र अभिभावकलाई विद्यालयका तर्फबाट गुणस्तरीय शिक्षा दिन प्रतिवद्ध रहेको बताउनुभयो ।
प्याब्सन गैँडाकोटका अध्यक्ष एवं बोर्डका सदस्य लक्ष्मिप्रसाद दवाडीले आफ्नो भविष्य उज्ज्वल बनाउन तक्षशिला रोजाइमा पारेकोमा शुभकामना व्यक्त गर्दै विद्यार्थीको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा प्याब्सन नवलपुरका अध्यक्ष एवं बोर्डका सदस्य दीपक रावत, युनाईटेड तक्षशिलाका बोर्ड सदस्यहरु हरिदत्त कँडेल, निर्मल पाण्डे, गोपीनाथ खरेल, वुद्धिसागर रिमाल लगायतको उपस्थिती रहेको थियो । विजय सामुदायिक शिक्षा सदन (युनाईटेड तक्षशिला) मा नयाँ २१८ विद्यार्थी भर्ना भएका छन् ।