सिरियाली सरकार र विद्रोहीबिच भएको लडाइँमा एक सय ८२ को मृत्यु ।
काठमाण्डौँ । सिरियाली सरकार र विद्रोहीबिच भएको लडाइँमा मर्नेहरूको सङ्ख्या एक सय ८२ पुगेको छ । सिरियाली सरकार र विद्रोहीबिच अलेप्पो शहरको बाहिरी इलाका कब्जालाई लिएर द्वन्द्व चर्किएको हो । रुसी लडाकु विमानले सिरियाली सेनासँग मिलेर विद्रोही नियन्त्रित अलेप्पोको पूर्वी क्षेत्रमा लगातार हवाई हमला गरिरहेका छन् । एक अनुगमनका अनुसार मारिनेमा रुसी वायुसेनाको आक्रमणमा मारिएका सर्वसाधारण पनि छन् । एक दिन अघि जिहादी समूह हयात तहरीर अल–शाम (एचटीएस) र यसका सहयोगीहरूले उत्तरी अलेप्पो प्रान्तको सरकारी नियन्त्रणमा रहेका क्षेत्रहरूमा अचानक हमला गरेको त्यहाँको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । जसका कारण तनावकाबिच सबैभन्दा भीषण लडाई सुरु भएको बताइएको छ । जारी लडाइँमा मर्नेहरूको सङ्ख्या १८२ पुगेको निगरानीकर्ताले भनेका छन् । मर्नेमा १०२ जना एचटीएस लडाकु, सहयोगी समूहका १९ जना छन् । सरकारी सेना र सम्बद्ध समूहका ६१ जनाको पनि मृत्यु भएको छ ।