गैंडाकोटमा ३० दिने फुटबल प्रशिक्षण कार्यक्रम समापन

२०८२ मङ्सिर २१ आइतबार १८:३९:०० मा प्रकाशित

गैंडाकोट ।  गण्डकी प्रदेश खेलकुद परिषद्को आयोजनामा भएको ३० दिने फुटबल प्रशिक्षण समापन भएको छ । जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा भएको प्रशिक्षण आइतबार  रत्न राज्य लक्ष्मी माविको आडमा रहेको  फुटबल मैदानमा एक कार्यक्रमका बीच  समापन भएको हो । फुटबल प्रशिक्षणमा १६ वर्षभन्दा मुनिका २८ जना छात्र, छात्राहरूको सहभागिता रहेको थियो । प्रशिक्षणमा १४ जना छात्रा र १४ जना छात्रहरू रहेका थिए ।


निःशुल्क सञ्चालन भएको फुटबल प्रशिक्षणमा रहेका खेलाडीहरूलाई प्रमाणपत्र र प्रशिक्षण अवधिसम्म खाजा खर्चको पनि व्यवस्था गरिएको जिल्ला खेलकुद विकास समिति सदस्य एवं संयोजक लक्ष्मण कार्कीले जानकारी दिनुभयो । 


फुटबल प्रशिक्षकको रूपमा जितबहादुर तामाङ र पूर्ण श्रेष्ठ रहनुभएको थियो । समापन कार्यक्रममा कराते प्रशिक्षक विष्णु श्रेष्ठ र सुनगाभा युवा क्लबका पदाधिकारीहरू, खेलकुद प्रेमी, समाजसेवी व्यक्तिहरूको उपस्थिति रहेको थियो।