विजय सामुदायिक शिक्षा सदनले मनायो २५ औं वार्षिकोत्सव एबं अभिभावक दिवस समारोह
गैंडाकोट । गैंडाकोट ५ मा अवस्थित विजय सामुदायिक शिक्षा सदनले शुक्रबार २५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयले आफ्नै विद्यालयको प्रा∙णमा वार्षिकोत्सव मनाएको हो ।
कार्यक्रममा विधालयका प्रधानाध्यापक विरभद्र सापकोटाले विद्यालयको प्रतिवेदन प्रस्तुत गर्दै विद्यार्थीहरूको शैक्षिक सुधारमा विकास गर्नका लागि नियमित अभ्यास कक्षा, मनोवैज्ञानिक तथा परार्मश, नियमित मूल्यांकन र पृष्ठपोषण कक्षाहरु, प्रतिस्पर्धात्मक कार्यक्रम, प्रविधीमैत्री कक्षाहरु सञ्चालन गर्न प्रोजेक्टरको प्रयोग गरेको, शिक्षकहरुलाई आधुनिक तथा डिजिटल शिक्षण प्रणालीमा तालिम लगायतका क्रियाकलापहरु गर्दै आएको बताउनुभयो ।
त्यस्तै, उहाँले विद्यालयले बिएलइ, एसइइ, र कक्षा १२ को परिक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा विद्यालय नगरपालिकाबाट सम्मानित हुनुका साथै एसइइमा उच्चतम नतिजा ल्याउने २ जना विद्यार्थी र संस्थागत विद्यालयको तर्फबाट उत्कृष्ट शिक्षकहरुलाई नगरपालिकाबाट सम्मान गरिएको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि गैंडाकोट नगरपालिकाका शिक्षा अधिकृत रामप्रसाद अधिकारीले विद्यालयले विद्यार्थीका लागि निरन्तर रुपमा कार्य गर्दै शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै प्रशंसा गर्नुभयो । उहाँले नगरपालिकासँग समन्वय गरी खेलकुद लगायतका अतिरिक्त क्रियाकलापमा समेत विद्यालय सक्रिय रूपमा अघि बढेको बताउनुभयो ।
करिब १४०० भन्दा बढी विद्यार्थीलाई अध्ययन गराउँदै अभिभावकको विश्वास जित्न सफल भएको उल्लेख गर्दै उहाँले विद्यार्थीको भविष्य निर्माणमा अभिभावकको भूमिका महत्वपूर्ण हुने भएकाले आफ्नो जिम्मेवारी पूरा गर्न अनुरोध गर्नुभयो । शिक्षकहरूलाई व्यक्तिगत दायित्वका साथै सामाजिक उत्तरदायित्व समेत प्रभावकारी रूपमा निर्वाह गर्न सुझाव दिनुभयो ।
कार्यक्रमको समापन गर्दै विद्यालयका अध्यक्ष गोपीनाथ खरेलले विद्यालयको प्रगति शिक्षक, विद्यार्थी, अभिभावक र समुदायको साथ-सहयोगबाट सम्भव भएको उल्लेख गर्नुभयो । साथै, उहाँले विद्यार्थी नै राष्ट्रको भविष्य भएको उल्लेख गर्दै अनुशासन, मेहनत र सकारात्मक सोचका साथ अघि बढ्न आग्रह गर्नुभयो । विद्यालयले प्रतिभा प्रस्फुटनका लागि आवश्यक वातावरण सिर्जना गरिरहेको बताउँदै आगामी दिनमा अझ नयाँ योजना ल्याइने जानकारी दिनुभयो ।
विजय सामुदायिक शिक्षा सदनका पूर्व अध्यक्ष एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेमराज सापकोटाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको नेपाली प्रमुख शिक्षिका रञ्जना लामिछानेले सहजीकरण गर्नुभएको थियो ।
२५ औं वाषिर्कोत्सवको अवसरमा विद्यालयमा उपस्थित अभिभावकहरुलाई २५ ओटा प्रश्नमा हाजिरीजवाफ प्रतियोगिता गरिएको थियो । बिहीबार बिहान भएको अभिभावकका लागी ५ किलोमिटरको मिनि म्याराथुन प्रतियोगितामा पुरुष अभिभावकतर्फ प्रथम हुने नवीन श्रेष्ठ, द्वितीय लोकबहादुर आले र तृतीय कमल भट्टलाई पुरस्कृत गरिएको थियो । त्यस्तै, महिला अभिभावकतर्फ प्रथम हुने गीता सुवेदी, द्वितीय शोभा सापकोटा र तृतीय पुनम गुरुङलाई पनि पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले मन्तव्य राखेका थिए भने विभिन्न सांस्कृतिक नृत्य पनि प्रस्तुत गरेका थिए । विद्यार्थीहरुले स्टलहरु पनि राखेका थिए । विद्यालयले उत्कृष्ट अभिभावक, उत्कृष्ट शिक्षक, कर्मचारी तथा लामो समयसम्म त्यसै विद्यालयमा कार्यरत शिक्षकहरुलाई सम्मान गरेको थियो ।
गुणस्तरीय र व्यवहारीक शिक्षा हासिल गर्ने उद्देश्यका साथ विजय सामुदायिक शिक्षा सदन वि.स २०५८ साल फागुण ८ गते स्थापना भएको थियो । यहाँ नर्सरीदेखि १२ कक्षासम्म व्यवस्थापन, जेनेरल म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, जीव विज्ञान, कम्पयुटर विज्ञान सम्बन्धी पठनपाठन हुदैँ आएको छ ।