मेरो मानसपटलमा महान् सहिद वासु पौडेल (क.प्रविण)

२०७८ चैत ९ बुधबार ११:१२:०० मा प्रकाशित



नेपाली जनताको मुक्तिका लागि र २३८ वर्षिय निरंकुश राजतन्त्र अन्त्यका लागि जब देशमा तत्कालिन नेकपा (माओबादी) ले २०५२ फाल्गुनमा जनयुद्धको थालनी गर्यो । तब गाउँ–गाउँबाट जनमुक्ति आन्दोलनमा होमिने (सामेल हुने) को क्रम बढिरहेको थियो ।
क. प्रविणलाई पनि सानै (बाल्यकाल) देखिनै मुक्ति–आन्दोलनको प्रभाव राम्रो परेको थियो । किनकि उहाँको बुबा दण्डपाणि पौडेल (क. हिक्मत) जनयुद्धको थालनीसँगै भुमिगत हुनु हुन्थ्यो ।
बुबा दण्डपाणी पौडेल (क.हिक्मत) र आमा सीता पौडेलको चार सन्तान मध्ये कान्छो सन्तानका रुपमा चितवन जिल्ला माडि साबिक गर्दी २ मध्य सितलपुरमा बि.स. २०४३ साल असारमा जन्मनुभएको थियो  । उहाँको दुइवटा दिदी (अम्बिका र सावित्री) र एक दाजु माधव पौडेल (क.मिलन) हुनुहुन्छ । क. प्रविण सानैदेखि क्रान्तिकारी विद्रोही स्वभावको हुनुहुन्थ्यो ।
बुबाको प्रेरणाले गर्दा नै उहाँले स्कुले जीवनमा तत्कालिन अ.ने.रा.स्व.वि.यु.(क्रान्तिकारी) मा आवद्ध रहेर संगठनको महत्त्वपूर्ण काम गर्नु हुन्थ्यो । २०५८ सालमा जब देशमा तत्कालिन शाही नेपाली सेनाले दमन गर्यो । देशमा संकटकालको घोषणा गर्यो । तब गाउँ र स्कुलमा शाही सेना गएर दमन गर्न सुरु गर्यो । सो दमन मा क. प्रविण कयौँ पटक सेनाको पिटाइ र यातनामा पर्नु भयो । पटक–पटक यसरी स्कुलमा आइ सेनाले दिएको यातना सहन नसकेर उहाँमा विद्रोहको भाव आयो । वि.स. २०५९ को अन्तिम तिर कक्षा ७ को पढाईलाई त्यतिकै छाडेर तत्कलिन देशमा चलेको जनयुद्धमा होमिनु भयो ।


१६ वर्षको कलिलो उमेरमा आम नेपाली जनताको मुक्तीको लागि युद्धमा होमिएका क. प्रविणको जिम्मेवारी सुरुमा संगठानिक फिल्डमा नै रह्यो । पछि केही महिनामा शहरी युद्धको लागि तयार भएको स्पेसल टाक्स फोर्स (एसटिएफ) रहेर चितवनका विभिन्न शहरहरुमा काम गर्नु भयो । पार्टीको महत्त्वपूर्ण कामको सिलसिलामा विभिन्न ठाँउमा दुस्मनको घेरा भित्र पर्दा पनि निडर भएर नाअत्तिकन दुस्मनका हरेक चुनौतीको सामना गर्नु हुन्थ्यो । त्यो बेलाको  सम्झना अझै मेरो मानसपटलमा  ताजा छ । गते र महिना याद हुन सकेन ०६१ सालमा चितवनको रामपुर बजारमा क. महेश, क. प्रविण र क. देब तीनजना कमरेडहरु पार्टीको योजनामा रामपुर बजार रेक्की (अनुगमन) गर्न जादा तत्कालिन शाही नेपाली सेनासँग जम्काभेट हँुदा दोहोरो हानाहान (गोली चल्दा) हँुदा पनि साहासपूर्ण तरिकाले कमान्डर क. महेशको कासन (आदेस) को फ्लो गर्दै अन्तत विजय हाँसिल गरेर फर्केको त्यो क्षण भर्खर जस्तो लाग्छ ।
पार्टीको जिम्मेवारी पूरा गर्ने क्रममा विभिन्न शहरी युद्ध र मोर्चाहरुमा लडाई लड्दा लडदै २०६२ चैत्र ८ मा चितवन दारेचोकको चौतारा भन्ने ठाउँमा तत्कालिन शाही सेनाको रेन्जर बटालियनसँगको भिडन्तमा लड्दा क. प्रविणको खुट्टाको पिडौलामा जि पि एम जि को गोली लाग्यो । घाइते क. प्रविणलाई साथीहरुको सहयोगमा मेडिकल सेक्सनमा प्राथमिक उपचार गर्दा पनि ब्लड (रगत) रोकिएन । अन्ततः उहाँ ईतिहासमा कहिल्यै नमेटिने सुनौलो अक्षरले आफ्नो नाम लेखेर हामी बाट अल बिदा हुनु भयो ।
सो मोर्चामा उहाँ लगायत क. विश्वास, क. हुरी (जो चितवन मङलपुरको हुनुहुन्थ्यो ) लगायत १७ जना होनाहार योद्धाले शाहदत प्राप्त गर्नु भयो ।
आज हाम्रो सामु क. प्रविण हुनुहुन्न तर पनि उहाँको विचार र उहाँले देखाउनु भएको मार्ग र उहाँको अधुरो कामलाई पूरा गर्ने अभिभारा हामी मा छ ।
क. प्रविण लगायत जनयुद्धका सम्पुर्ण महान सहिदहरु अमर रहुन !
(माधव पौडेल (क.मिलन) वाईसिएल माडि नगर इन्चार्ज हुन् ।)