विकूको २२ औँ सेवा केन्द्र भरतपुर ९ शरदपुरमा, शरदगौली सेवा केन्द्रको समुद्घाटन

२०७८ चैत २५ शुक्रबार १८:००:०० मा प्रकाशित

गैँडाकोट 
विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शरदगौली सेवा केन्द्रको समुद्घाटन गरेको छ । शरदगौली सहकारीसँगको एकीकरणपछि विकूले २२ औँ सेवा केन्द्रका रुपमा भरतपुर ९ शरदपुरमा शरदगौली सेवा केन्द्रको समुद्घाटन गरेको हो । भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाह ठकुरीले सो सेवा केन्द्रको समुद्घाटन गर्नुभएको हो । 
कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहनुभएकी उपप्रमुख शाहले सहकारी सबैको बन्नुपर्नेमा जोड दिनुभएको छ । समुदायमा बैङ्कको काम सहकारीले गरेको र अझै सेवा विस्तारमा ध्यान दिनुपर्ने उहाँको भनाई छ । थोरै पुजीलाई एकिकृत गरेर आफ्नो थोरै थोरै संकलन गरेको पैसाले सदस्यलाई गाहे अप्ठारो पर्दा काम दिएको र सेवालाई अझै विस्तार गर्दै अगाडी बढ्न आवश्यक रहेको बताउनुभयो । चितवनको भरतपुर सहकारीको जननी स्थान भएको सहकारीका लागि उर्वर भुमि रहेको पनि उहाँले बताउनुभयो । 
विकूका अध्यक्ष ओमप्रसाद सापकोटाले विकूले ३ दशकदेखी सदस्यको आर्थिक उपार्जनमा जोड दिईरहेको बताउनुभयो । उहाँले विकूले नीति, विधि र प्रविधिलाई आत्मसाथ गरेकै कारण सफलता प्राप्त गरेको बताउँदै चितवनमा सेवा विस्तार गर्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले विकूका सदस्यले कहिल्यै दुःख नपाउने र यदि त्यस्तो अवस्था आए विकूलाई सम्झन आग्रह गर्नुभयो ।  व्यवहारमा नै सहकार्य भए सहकारीको मर्म पुरा हुने बताउनुभएको छ । 

विकूका प्रमुख अधिकृत माधवप्रसाद पौडेलले संस्थाको करिव ८३ करोड सेयरपूँजी रहेको जानकारी दिनुभयो । 
भरतपुर ७ का वडाध्यक्ष राजेन्द्र काफ्ले, भरतपुर वडा नम्बर २ का वडाध्यक्ष पुर्णबहादुर श्रेष्ठ, विकूका लेखा संयोजक कमद सुवेदी, शरदपुर मावीका प्रधानाध्यापक भोलानाथ सापकोटा, त्रिपुरेश्वर शिव मन्दिरका अध्यक्ष लालु गैरे, लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । शरदगौली सेवा केन्द्र संयोजक मनहरि कँडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण विकूका सचिव प्रेमप्रसाद सापकोटा राजुले गर्नुभएको थियो ।
बिकूले हाम्रो लक्ष्य खुसी एवम् स्वस्थ सदस्य नारा लिएर सदस्यलाई मुस्कान सहितको सेवा प्रदान गरेको छ । गर्भदेखि स्वर्गसम्म नारा लिएर सदस्यलाई बित्तिय र गैरबित्तिय सेवा प्रदान गर्दै आइरहेको छ । यस्तै आज विकूले शरदगौली सेवा केन्द्रमा ज्येष्ठ नागरिकलाई टेक्ने लौरी, एटिएम कार्ड र संस्थामा योगदान पु¥याउनुभएका व्यक्तित्वहरुलाई सम्मानित समेत गरेको छ ।