बयालीस वर्षपछि भेट्दा...

२०७८ चैत २८ सोमबार १८:०९:०० मा प्रकाशित


प्रेम क्षेत्री
गैँडाकोट । बालसखा । गैँडाकोटबाट पहिलो पटक एसएलसी दिने समूहका सहपाठी बयालीस वर्षपछि सोमबार गैँडाकोटमा भेट भए । ‘त’ र ‘म’ भन्ने गरेका बयालीस वर्ष अघिका साथीले एक अर्कालाई राम्ररी चिनेनन् । ‘त’ भन्न सकेनन् । ४ दशक पछि भेट्दा सेतै कपाल फुलेका । केहीका दाँत समेत फुक्लिसकेका चिनुन् पनि कसरी ? केही लौरो टेकेर आएका थिए । भेटका क्रममा केहीले सुगर त केहीले प्रेसर लगायत दिर्घ रोगी रहेको सुनाए ।
करिब आधा सताब्दीपछि मिलन हुन पाउँदा अंकमाल गरे । एक अर्कामा खुसी साटासाट गरे । कोही एक अर्कालाई चिनाउदै थिए । प्रवेशिका परिक्षा टेष्टमा सहभागि ४९ मध्ये ३६ जना पहिलो पटक एसएलसीमा सहभागि भएका थिए । उनीहरु मध्ये २३ जनाले उत्तीर्ण गरेका थिए । जस मध्ये १० जना छात्रा थिए । यी मध्ये ५ जना बालसखा उनीहरुले गुमाईसकेका छन् । बालसखा भेट्न नेपालगञ्ज, बागलुङ, काठमाडौँ, हेटौँडा, भरतपुरदेखी आएका थिए । ३ जना गुरुहरु पनि उनीहरुले गुमाईसकेका छन् ।
२०३६ सालमा पहिलो पटक जनक माध्यमिक विद्यालयबाट एसएलसी दिने भूतपूर्व विद्यार्थीहरुले अध्यापक अभिनन्दन् एवं मित्र मिलनको अवसर जुटाएका थिए ।
२०१५ सालमा हालको जनक माध्यमिक विद्यालय रहेको गैँडाकोट ५ मा नेपाल राष्ट्रिय शमसेर आदर्श प्राथमिक विद्यालय रहेको थियो । पूर्व प्रधानपञ्च रोहणभक्त अधिकारीले (२०२२ सालदेखी २०२९ सालसम्म) अथक प्रयासपछि गैँडाकोटको शिक्षा अघि बढाउन सकिएको सुनाए । माध्यमिक विद्यालय सञ्चालन र स्वीकृतिका लागि चितवनदेखी विद्यार्थी ल्याएर देखाएर कक्षा अनुमतिका लागि प्रयास गरिएको बताए । स्व. सूर्यभक्त अधिकारी परिवारको शिक्षालाई अघि बढाउन ठूलो योगदान रहेको उनले सुनाए ।  
२०२७ साल भदौ ५ गते स्थापना भएको जनक निम्न माध्यमिक विद्यालयले २०३४ सालदेखी मावि तहको अध्यापन सुरु गरेपनि २०३५ सालमा मात्रै स्वीकृत प्राप्त गरेको थियो । देवचुली माविबाट सम्बन्धन लिई अध्यापन गरेपनि एसएलसीको परीक्षाको स्वीकृत पाएपछि मात्र गैँडाकोटबाट पहिलो पटक एसएलसी दिन पाएका थिए । यसअघि रजहर वा चितवनबाट एसएलसी दिदै आएका थिए ।
निम्न माध्यमिक तह सञ्चालनका लागि संस्थापक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ब्रजमोहन सोतीले घरदैलो गरेर पढ्न छाडेकालाई विद्यालय भर्ना गराएर विद्यालय सञ्चालन गरेको स्मरण गराए । उनले भने, “कक्षा सञ्चालन गर्न भवन थिएन । सानो छाप्रो थियो त्यो पनि स्याउलाको एउटा मात्रै । भुईंमा बसेर पढ्थे । केहीले चकटी, गुन्द्री आफैँ ल्याएर पढ्थे ।”


२०२७ सालमा विद्यालयका संस्थापक प्रधानाध्यापक राजकुमार पियाले ठुलो चुनौती पार गरी विद्यालय सञ्चालन गरेको सुनाए । उनले भने, “सबैको एकमतले नै यहाँको शिक्षा अघि बढ्यो ।”
संस्थापक समूहले कर्मा रेष्टुरेन्ट थुम्सीमा आयोजना गरेको अध्यापक अभिनन्दन् एवं मित्र मिलन कार्यक्रमका प्रमुख अतिथि जग्गादाता, जनक माध्यमिक विद्यालयको पूर्व व्यवस्थापन समितिका अध्यक्ष एवं वर्तमान सदस्य मदनभक्त अधिकारीले हजुरबुवा शमसेरबहादुर अधिकारीलाई स्मरण गर्दै यहाँको शिक्षालाई अगाडी वढाउन निरन्तर लागिपरेको बताए । २०१८ सालमा गैँडाकोट तनहुँ जिल्लामा गाभिएको स्मरण गराउँदै पूर्व प्रधानपञ्च समेत रहेका अधिकारीले माध्यमिक तह सञ्चालनको स्वीकृतिका लागि मन्त्रालय, जिल्ला शिक्षा समितिबाट पाएको दुःख सुनाएका थिए । उनले भने, “विद्यालयलाई स्वीकृति नदिदा मन्त्रालयमा भनाभन र चर्काचर्की समेत गर्नुपरेको थियो ।”  
पूर्व प्रधानाध्यापक दशरथ तिवारीले संस्थापन विद्यार्थीको समूह गैँडाकोटको दिशा निर्देश र भविष्य निर्माण गर्ने समूह रहेको बताए । गैँडाकोटको शैक्षिक जागरणका लागि उनीहरुको ठूलो योगदान रहेको बताए । उनले भने, “यो समूह गैँडाकोटको दिशा निर्धारण र भविष्य निर्धारण गर्ने समूह हो ।”
पूर्व प्रधानाध्यापक प्रकाशचन्द्र शर्माले आफ्नो ४० वर्षे अध्यापन अवधिमा जनकको २०३६ सालको समूह उत्कृष्ट रहेको पाएको बताए । उनले भने, “मैले ४० वर्षमा अध्यापनका क्रममा यो समूह निकै असल र उत्कृष्ट रहेको पाए ।”
शिक्षक, कविवर गोविन्दराज विनोदीले कवितामार्फत सबैसँग भेट गर्न पाउने अहोभाग्य रहेको सुनाए ।
विद्यार्थी सावित्री पौडेल थापाले मन्तव्य राख्ने क्रममा भनिन्, “यो विद्यालय मात्र होइन् घर संसार हो ।”
विद्यार्थी लिला सोतीले पानी खान नारायणी नदीसम्म धाउनु परेको अवस्थामा समेत सबै एकजुट भइ विद्यालय निर्माणमा जुटेको बताइन् ।
पूर्व विद्यार्थीहरु मिनबहादुर डिस्वा थापा, खगराज पौडेल, शालिकराम पोख्रेल लगायतले साथीहरुसँग भेट गर्न टाढा–टाढादेखी आएको बताउँदै खुसी तुल्याएको बताएका थिए ।
स्वागत मन्तव्य व्यक्त गर्दै पूर्णनारायण प्रधान ‘टंक’ले अनुहार पनि बिर्सिसकेको यो समयमा जनकको पहिलो समूहका विद्यार्थीको कर्तव्य बोध गराए ।
कार्यक्रमको सहजिकरण गर्दै ईन्द्रराज ज्योती पौडेलले माया र गाली गर्दै दिक्षित गराउने गुरुवरप्रति सम्मान व्यक्त गरे ।
सबैलाई भेट गराउने संयोजन गरेका कार्यक्रमका अध्यक्ष समेत रहेका खेमराज तिवारीले हरेक क्षेत्रमा सशक्त गराउन अह्म भूमिका निर्वाह गर्ने गुरुको सम्मानमा यो कार्यक्रम गरिएको बताए । उनले साथीले मृत्युवरण गर्दा पनि थाहा नपाउने अवस्था आएपछि नियमित सम्पर्कका लागि पनि मित्र मिलन कार्यक्रम गरिएको बताए ।
सो अवसरमा तत्कालिन विद्यालय व्यवस्थापन समिति र गुरु गरी १२ जनालाई सम्मान गरिएको थियो । कार्यक्रममा पूर्व शिक्षक चेतनाथ भुषाल, बलराम कोईराला, हरिहर आचार्य लगायतको उपस्थिती रहेको थियो ।