नयाँ वर्षमा मौलाकालिका मन्दिरमा तीन घण्टा जाम

२०७९ बैशाख १ बिहीबार १६:५४:०० मा प्रकाशित

गैँडाकोट । नयाँ वर्षका अवसरमा मौलाकालिका मन्दिरमा दर्शनका लागि आउने भक्तजनको चापले झण्डै तीन घण्टा मन्दिर परिसरमा जाम भएको थियो ।
नयाँ वर्षमा मौलाकालिका दर्शन गर्ने भक्तजनको भीड थेग्न गाह्रो भएको धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाले बताउनुभयो । नयाँ वर्षका अवसरमा बिहान ४ बजेदेखि नै भक्तजन आउने क्रम रहेपनि मुख्यगरि तीन घण्टा जाम नै भएको थियो । सापकोटाले भन्नुभयो, “मौलाकालिकाको फेदीदेखी मन्दिरसम्म २३ मिटर छ, १ मिटरमा कम्तीमा पनि १ जना थिए, यो तीन घण्टा टुटेन । त्यो हेर्दा कम्तिमा ४० हजार भक्तजन आएको अनुमान छ ।”
उहाँले ४ बजेदेखी १२ बजेसम्म एकदमै भिड रहेको बताउनुभयो । साँझ पाँच बजेसम्म पनि भक्तजन जाने क्रम रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “साढे ८ बजेदेखी साढे ११ बजेसम्म तीन घण्टा जाम नै थियो ।”
पछिल्ला केही वर्षदेखि नयाँ वर्ष र बडा दशैँको अष्ठमीका दिन दर्शनमा आउने भक्तजन बढ्न थालेको उहाँले बताउनुभयो । नयाँ वर्षमा शुभ साईत एवं पूजा अर्चना र सुखद् विदा मनाउन पनि धार्मिक एव्म पर्यटकीय स्थल मौलाकालिका जाने गरेका छन् ।
तस्वीर ः रञ्जना लामिछानेको फेसबुकबाट