चितवनमा ५ जना औलो बिरामी भेटिए

२०७९ बैशाख १२ सोमबार १७:१३:०० मा प्रकाशित


भरतपुर । चितवनमा चालु आर्थिक वर्षको हालसम्म ५ जना औलो बिरामी भेटिएका छन् । भेटिएका सबै आयातित रहेको स्वास्थ्य कार्यालय चितवनका निमित्त कार्यालय प्रमुख राम केसीले जानकारी दिनुभयो ।

विश्व औलो दिवसको अवसरमा स्वास्थ्य कार्यालय चितवनले आयोजना गरेको सञ्चारकर्मीबीचको अन्तरक्रिया कार्यक्रममा उहाँले आयातित केश बढ्नु मुख्य समस्याको रुपमा रहेको बताउनुभयो । भारत लगायतका बा्हय देशबाट फर्किएकाहरुमा औलो देखिएको हो । चितवनमा आर्थिक वर्ष ०७५/०७६ मा १०, ०७६/०७७ मा ९ र ०७७/०७८ मा १ जनामा औलो देखिएको थियो । यो वर्ष स्थानीय बिरामी भने शून्य रहेको उहाँले जानकारी दिनुभयो ।

औलो निवारणका लागि उहाँले शंकास्पद बिरामीको रगत परिक्षण, झुल वितरण, चेतनामूलक कार्यक्रम, कीटनाषक विषादी छर्ने, रोगका बारेमा जानकारी एवं अभिमुखिकरण लगायतका कार्यक्रम गरिएको बताउनुभयो । यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु नै मुख्य उपाय भएको स्वास्थ्य कार्यालय चितवनका निमित्त कार्यालय प्रमुख राम केसीले जानकारी दिनुभयो ।

सोमबार “औलोको भार कम गर्न नयाँपनमा जोड दिऔँ र जीवन बचाऔँ” भन्ने मूल नाराका साथ विश्व औलो दिवस मनाईएको हो ।