नसर्ने रोगबाट मृत्युदर उच्च, नसर्ने ८ रोगमा आर्थिक सहायता

२०७९ बैशाख २० मंगलबार १२:५१:०० मा प्रकाशित

प्रेम क्षेत्री,
गैँडाकोट । सर्ने भन्दा नसर्ने रोगबाट मानिसको मृत्युदर उच्च रहेका कारण स्वास्थ्यमा विशेष ध्यान दिन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । गैँडाकोटमा आयोजित जिल्लाका स्वास्थ्यकर्मीहरुका लागि नसर्ने रोग सम्बन्धी ४ दिने तालिमका वक्ताहरुले धुम्रपान, अस्वस्थकर खानपिन, अपर्याप्त शारीरिक क्रियाकलाप वा व्यायम र मद्यपानका प्रयोगका कारण जोखिम बढ्दै गएको बताएका थिए ।
कार्यक्रममा स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईले सर्ने भन्दा नसर्ने रोगबाट मानिसको मृत्युदर उच्च रहेका कारण स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गर्नुभयो । तालिममा सिकेका कुरालाई व्यवहारत कार्यान्वयनमा ल्याउन आग्रह गर्दै स्वास्थ्यकर्मीलाई नसर्ने रोगको प्रभाव कम हुनेगरी काम गर्न निर्देशन दिनुभयो ।
गैँडाकोटका स्वास्थ्य शाखा प्रमुख, जनस्वास्थ्य अधिकृत झलकराज पौडेलले नसर्ने रोगहरुमा मुटु तथा रक्तनलीका रोग, मधुमेह, दीर्घ स्वासप्रश्वास सम्बन्धी रोग एवं दम तथा स्तन र पाठेघरको मुखको क्यान्सर बढिरहेको पाईएकोले जीवनशैलीमा सुधार गर्नुपर्ने बताउनुभयो ।
देवचुलीका स्वास्थ्य शाखा प्रमुख, जनस्वास्थ्य अधिकृत रामकुमार श्रेष्ठले विश्वव्यापीकरण, शहरिकरण, उमेर वृद्धि, जनसङ्ख्या वृद्धि तथा जीवनशैलीमा आएको परिवर्तन तथा वातावरणीय प्रदुषण लगायतका कारण मानिसको जीवन र स्वास्थ्यमा जोखिम बढ्दै गएको बताउनुभयो ।
स्वास्थ्य कार्यालय नवलपुरका जनस्वास्थ्य अधिकृत मूक्तिनाथ भट्टराईले नवलपुर जिल्लामा तुलानात्मक रुपमा हैजा, झाडापखला कम हुँदै गएपनि मधुमेह, क्यान्सर र उच्च रक्तचापका बिरामी बढेको जानकारी दिनुभयो । व्यक्तिमा भएको नसर्ने रोगहरुको पहिचान गरी जनधनको क्षति कम गर्न स्वास्थ्यकर्मीहरुलाई तालिम प्रदान गरिएको उहाँले जानकारी दिनुभयो ।
तालिममा स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाई, मध्यविन्दु जिल्ला अस्पतालका विशेषज्ञ, डा. कमलराज न्यौपाने, दुम्कौली अस्पतालका डा. विकास अधिकारी, देवचुलीका स्वास्थ्य शाखा प्रमुख, जनस्वास्थ्य अधिकृत रामकुमार श्रेष्ठले नसर्ने रोगबारे प्रशिक्षण दिनुभएको थियो । समापन कार्यक्रममा प्रशिक्षार्थीहरु सुदिना केसी र खुमकुमारी श्रेष्ठले सिकेका कुरालाई प्रयोगात्मक रुपमा गर्ने बताएका थिए ।
सरकारले सामाजिक सुरक्षा कोषद्वारा ८ प्रकारका नसर्ने रोगहरुको उपचारका लागि १ लाख बराबरको औषधि उपचारका लागि आर्थिक सहायता प्रदान गर्दै आईरहेको छ । मृगौला रोग, अन्य कडा ७ वटा रोगहरु मुटु, क्यान्सर, हेड ईन्जुरी, स्पाईनल ईन्जुरी, अल्जाइमर्स, पार्किन्ससर र सिललसेल एनिमियाका लागि स्वदेशमा नै उपचारका लागि सहायता गर्ने छ ।
नेपालमा कुल मृत्यु मध्ये ६६ प्रतिशत नसर्ने रोगको कारण मृत्यु हुने गरेको पाईएको छ । नसर्ने रोगहरु विश्वमा मानिसहरुको मृत्युको प्रमुख कारणको रुपमा देखा परेको छ ।