हप्तामा दुईदिन विदा हुनेभएपछि शैक्षिक संस्थाको विदा कटौती

२०७९ बैशाख २८ बुधबार १६:२३:०० मा प्रकाशित


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक संस्थाको हिउँदे, वर्षे र स्थानीय विदा कटौती गर्ने निर्णय गरेको छ । सरकारले शनिबार र आइतबार गरी हप्तामा दुई दिन विदा दिने निर्णय गरेपछि शैक्षिक संस्थामा पढाइ हुने दिन घट्न नदिन हिउँदे, वर्षे र स्थानीय विदा कटौती गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिनुभयो।
सम्बन्धित निकायले हप्ताको दुई दिन विदा गर्दा पाठ्यघण्टा घट्न नदिन ५ दिन १० देखि ४ बजेसम्म र हिउँदे, वर्षे र स्थानीय विदा कटौती गरी वर्षभरिमा अधिकतम ३० दिनसम्म विदा दिन सक्ने शर्माले बताउनुभयो । 
यसअघि हिउँदे र वर्षे बिदा गरी ४५ दिन, स्थानीय बिदा पाँच दिन दिने व्यवस्था थियो ।प्रवक्ता शर्माले विद्यालयको हकमा सम्बन्धित पालिकाले, प्राविधिक शिक्षाका हकमा सीटीईभीटीले र विश्वविद्यालयको हकमा विश्वविद्यालय अनुदान आयोगले विदा व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।
शिक्षा नियमावली अनुसार एक शैक्षिक सत्रमा २२० दिन विद्यालय खुल्नुपर्ने र १८० दिन पठनपाठन हुनुपर्ने व्यवस्था छ । त्यस्तै एक शैक्षिक सत्रमा एक हजार २४ घन्टा पाठ्यभार हुनुपर्ने व्यवस्था छ ।