भरतपुर महानगरको प्रमुखमा माओवादी केन्द्रकी रेनु दाहाल विजयी 

२०७९ जेठ १० मंगलबार ११:२८:०० मा प्रकाशित


उपप्रमुखमा काँग्रेसका चित्रसेन अधिकारी विजयी
 

भरतपुर महानगरमा 
 

१६ वडामा नेपाली काँग्रेस विजयी
 

६ वटा वडामा नेकपा एमाले विजयी
 

३/३ वटा वडामा माओवादी केन्द्र र नेकपा एकीकृत विजयी
 

१ वटा वडामा स्वतन्त्र उम्मेद्वार विजयी 

 

भरतपुर । चितवनको भरतपुर महानगरपालिकाको प्रमुखमा रेनु दाहाल विजयी हुनुभएको छ । उहाँ ५२ हजार ३० मतसहित दोस्रो कार्यकालका लागि महानगरप्रमुख पदमा विजयी हुनुभएको हो । एमाले उम्मेदवार विजय सुवेदीलाई १२ हजार ४४९ मतले पछि पार्नुभयो । सुवेदीले ३९ हजार ५८१ मत ल्याउनुभएको छ । यसैगरी नेपाली कांग्रेसका वागी उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७२८ मत प्राप्त गर्नुभयो । उपमेयर पदमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी ५२ हजार ८०३ मतसहित विजयी हुनुभयो । अधिकारीले राप्रपाकी उम्मेदवार हिमला गुरुङलाई २२ हजार १९१ मत अन्तरले पराजित गर्नुभयो । हिमलाको पक्षमा ३० हजार ६१२ मत परेको छ ।


भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनका दलहरुले तालमेल गरेपछि नेकपा एमाले र राप्रपाले पनि तालमेल गरेर प्रतिस्पर्धा गरेका थिए ।


नेपाली कांग्रेसले भरतपुर महानगरका १६ वटा वडा जितेको छ । वडा नम्बर १, २, ४, ५, ६, ८, १०, १४, १५, १६, १७, २०, २१, २३, २७ र २९ नम्बर वडा अध्यक्षमा कांग्रेस उम्मेदवार विजयी भएका हुन् । ३, ११, १२, १८, १९ र २८ गरी ६ वटा वडा नेकपा एमालेले जितेको छ ।


माओवादी केन्द्रले ३ वटा वडाको वडाध्यक्ष पद जितेको छ । १३, २४ र २६ नम्बर वडामा माओवादी केन्द्रका  उम्मेदवार विजयी हुँदा एकीकृत समाजवादीले ७, ९ र २२ नम्बर वडाको नेतृत्व जितेको छ । स्वतन्त्र उम्मेदवार २५ नम्बर वडामा विजयी भएका छन् ।