गैँडाकोटको नगरकार्यपालिकामा जाने सदस्यको टुङ्गो लाग्यो

२०७९ जेठ १० मंगलबार १४:५६:०० मा प्रकाशित

प्रेम क्षेत्री,
गैँडाकोट । गैँडाकोट नगरपालिकाको नगरकार्यपालिका सदस्य पदमा जाने ८ जनाको टुङ्गो लागेको छ । नेपाली काँग्रेसबाट ४ र नेकपा (माओवादी केन्द्र)बाट ४ जनाको नाम टुङ्गो लागेको हो । नगरकार्यपालिका सदस्य पदको निर्वाचन कार्यतालिका अनुसार सोमबार ८ जनाको मात्रै मनोनयन दर्ता भएको हो । ८ जनाको मात्रै मनोनयन भएपछि उनीहरु सर्वसम्मत भएका छन् ।
मनोनयन हुनेहरुमा निर्वाचित ५ महिला सदस्यमध्येबाट ४ जना नेपाली काँग्रेसका रहेका छन् । वडा नम्बर ७ की ईश्वरी जिसी, ४ की शान्ता घर्ती, ५ की शान्ती न्यौपाने र १६ की सरितादेवी दर्जी रहेकी छन् । त्यस्तै नेकपा माओवादी केन्द्रबाट वडा नम्बर ८ की कमला आचार्य रहेकी छन् ।
त्यस्तै दलित वा अल्पसङ्ख्यकतर्फबाट ३ जना रहेका छन् । उनीहरु तीनैजना नेकपा माओवादी केन्द्रका रहेका छन् । भेडाबारीकी उर्मिला विक, शिवनगरका राजकुमार कुमाल र खलेचौरकी सिता दराई रहेका छन् ।
८ जनाको मात्र मनोनयन दर्ता भएपछि आज हुने भनिएको मतदान नहुने भएको छ । उनीहरुलाई निर्वाचित घोषित गरी १३ गते प्रमाणपत्र वितरण गरिने गैँडाकोट निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत विष्णुप्रसाद भुसालले जानकारी दिनुभयो । निर्वाचित नगरकार्यपालिका सदस्यहरुलाई नगर प्रमुख मदनभक्त अधिकारीले सपथ ग्रहण गराउनु हुनेछ । त्यसलगत्तै नव निर्वाचित नगर कार्यपालिकाको पहिलो बैठक बस्ने छ ।
गैँडाकोट नगर कार्यपालिकामा नेपाली काँग्रेसको स्पष्ट बहुमत रहेको छ । यससँगै नगर कार्यपालिकामा नेपाली काँग्रेसका नगर प्रमुख सहित १७ जना, एमालेका ६ जना, माओवादी केन्द्रका ५ जना हुनेछन् । नगर सभामा समेत काँग्रेसको स्पष्ट बहुमत रहेको छ ।