अंग्रेजी नयाँ वर्षमा क्याम्पा चौरमा ‘चितवन म्युजिक फेस्ट’ हुने

२०७९ मङ्सिर १७ शनिबार १७:२१:०० मा प्रकाशित

चितवन । अंग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा नारायणगढको क्याम्पा चौरमा ‘चितवन म्युजिक फेस्ट’ हुने भएको छ । डिजिफ्लाई ब्राण्डिङ एजेन्सी र एस्ट्रल युथ सोसाइटी भरतपुरको संयुक्त आयोजनामा ‘चितवन म्युजिक फेस्ट’ हुन लागेको हो । यहि पौष १६ र १७ गते (डिसेम्बर ३१ र जनवरी १ तारिख) मा हुने कार्यक्रममा सांगितिक प्रस्तुतिहरुसँगै फुड स्टलहरु पनि रहने आयोजक डिजिफ्लाई ब्राण्डिङ एजेन्सीका सिईओ प्रसुन श्रेष्ठले जानकारी दिनुभयो ।

पहिलो दिन कार्यक्रममा नबिन के भट्टराई, कालीप्रसाद बास्कोटा र दि इलिमेन्ट्सको प्रस्तुती रहने उहाँले बताउनुभयो । त्यस्तै दोस्रो दिन सविन राई र कबवेब ब्याण्डसँगै दुवै दिन स्थानीय कलाकारको प्रस्तुती रहने उहाँले जानकारी दिनुभयो । 

कार्यक्रम परिसर भित्र १७ वटा फुड स्टलहरु रहनेछन् । ती सबै स्टल निःशुल्क उपलब्ध गराइने एस्ट्रल युथ सोसाइटीका अध्यक्ष प्रकाश भुजेलले जानकारी दिनुभयो । तर व्यवसायीहरुले कार्यक्रम प्रायोजकको उत्पादन मात्रै बिक्री गर्नुपर्ने उहाँको भनाई थियो । 

यस्तै गेम स्टल, फेस पेन्टिङ स्टल पनि रहने जनाइएको छ । दुई दिनमा दश हजार दर्शकले कार्यक्रमको अवलोकन गर्ने अनुमान गरिएको छ । कार्यक्रम सम्पन्न गर्नका लागि ६५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ । दर्शकका लागि एक हजार रुपैयाँको भिआईपी र पाँच सयको सामान्य टिकटको व्यवस्था गरिएको छ । डिजिफ्लाई ब्राण्डिङ एजेन्सी मार्केटिङ एजेन्सी र एस्ट्रल युथ सोसाइटी भरतपुर फुटबलको क्षेत्रमा काम गर्ने संस्था हुन् ।