गण्डकी प्रदेशका सांसदहरूको शैक्षिक योग्यता कति ?

२०७९ मङ्सिर २० मंगलबार १०:५२:०० मा प्रकाशित

गैँडाकोट । प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत गण्डकी प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फ निर्वाचित सांसदमध्ये सबैभन्दा बढी स्नातक र स्नातकोत्तरसम्मको शिक्षा हासिल गरेका छन् । 

निर्वाचन आयोगले प्रविष्ट गरेको शिक्षाको तथ्याङ्क अनुसार नवनिर्वाचित गण्डकी प्रदेश सभा सदस्यमध्ये एक जनाले विद्यावारिधि (पिएचडी) गरेका छन् भने एक जना ‘अन्डर एसएलसी’ छन् ।

लमजुङ क्षेत्र नम्बर–१ (१) बाट निर्वाचित नेपाली काँग्रेसका टक राज गुरुङले पिएचडी अर्थात विद्यावारिधि गरेका छन् । मुस्ताङ क्षेत्र नम्बर–१ (१) बाट निर्वाचित नेपाली काँग्रेसका नम्डु गुरुङ अण्डर एसएलसीका हुन् । 

निर्वाचन आयोगको तथ्याङ्क अनुसार गण्डकी प्रदेशका ९ सांसदले स्नातकोत्तर (मास्टर्स) तहको शैक्षिक उपाधि प्राप्त गरेका छन् भने १२ जना स्नातक (ब्याचलर) तहसम्मको अध्ययन गरेका छन् । ६ जनाले प्रमाणपत्र तहको अध्ययन गरेका छन् । उनीहरु मध्ये १ जनाले प्रवीणता प्रमाणपत्र तह, १ जनाले (+२) तह र ४ जनाको प्रोफेसेन्सी सर्टिफिकेट उल्लेख गरिएको छ । त्यस्तै ६ जनाले एसएलसी सम्मको अध्ययन गरेका छन् भने ३ जनाको शैक्षिक योग्यता उल्लेख गरिएको छैन । तथ्याङ्कमा एजुकेसन एन/ए उल्लेख गरिएको छ । 

निर्वाचित प्रदेश सभा सदस्य मध्ये पर्वत क्षेत्र नम्बर १ (१) का नेपाल कम्युनिष्ट पार्टी (एमाले)का भक्त बहादुर कुवरले कानुन विषयमा स्नातक गरेका छन् । 

प्रत्यक्षतर्फ निर्वाचित ३६ जना सदस्य मध्ये मात्र २ महिला रहेका छन् । निर्वाचित महिला मध्ये नवलपरासी (बर्दघाट सुस्तापूर्व) क्षेत्र नम्बर २ (१) बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) की पदमा जि.सी स्नातक अध्ययनरत हुन् । अर्की स्याङ्जा क्षेत्र नम्बर १ (१) बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सीता कुमारी सुन्दासले मास्टर्स गरेकी छन् । 

प्रत्यक्षमा महिला सहभागिता २ जना मै सीमित भयो । गण्डकी प्रदेशसभामा ६० सिट कायम छ । संविधानले व्यवस्था गरे बमोजिम प्रदेश संसदमा ३३ प्रतिशत महिला सहभागिता पु¥याउन कम्तीमा २० जना महिला चाहिन्छ । अब गण्डकी प्रदेश सभामा ३३ प्रतिशत अर्थात् २० जना महिला सहभागिता पु¥याउन १८ जना समानुपातिक प्रणालीबाटै लैजानुपर्ने हुन्छ । समानुपातिकतर्फको अन्तिम मत परिणामपछि सदस्यको टुङ्गो लाग्ने छ ।

गण्डकी प्रदेश सभाको प्रत्यक्ष ३६ सिट मध्ये ३२ नयाँ अनुहार आएका छन् । ४ अुनहार दोहोरिएका छन् । नेपाली कांग्रेसका बिन्दुकुमार थापा, नेकपा (माओवादी केन्द्र)का हरिबहादुर चुमान, नेकपा (एमाले)का रोशन गाहा मगर र स्वतन्त्र राजीव गुरुङ दोहोरिएका हुन् । 

प्रदेशमा निर्वाचित केही सदस्य प्रतिनिधि र राष्ट्रिय सभामा अनुभव लिइसकेकाहरु पनि छन् । कास्की १ (क) बाट निर्वाचित खगराज अधिकारीसँग प्रतिनिधि सभा र केही दिन गृहमन्त्रीको अनुभव छ । गोरखा २ (ख) बाट विजयी भएका सुरेन्द्रराज पाण्डे राष्ट्रिय सभाका पूर्व सदस्य हुन् । उनीहरु बाहेक समानुपातिक सूचीमा रहेका नेताहरु पूर्व सांसद भइसकेकाहरु पनि छन् । उनीहरुको टुंगो लाग्न बाँकी रहेको छ ।  

प्रदेश शभामा प्रत्यक्षतर्फ नेपाली काँग्रेसबाट १८ जना, नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट १२ जना निर्वाचित भएका छन् । एकल चुनाव चिन्ह गोलाकारभित्र हँसिया हथौडाबाट ५ जना निर्वाचित भएका छन् । जसमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट ४ र नेपाल समाजवादी पार्टीका १ जना निर्वाचित भएका छन् । निर्वाचित हुनेमा अर्का १ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । मनाङ क्षेत्र नम्बर १ (२) बाट राजिव गुरुङ सर्वसम्मत निर्वाचित भएका हुन् । 

निर्वाचित सांसदलाई प्रादेशिक कानुन बनाउने र प्रदेश सरकारको निर्माण गर्ने मुख्य जिम्मेवारी हुन्छ । कार्य अनुभव भएपनि शिक्षा महत्त्वपूर्ण हुन्छ ।  

निर्वाचित सांसद मध्ये गोरखाका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का कृष्ण प्रसाद धितालले एसएलसी सरहको अध्ययन गरेका छन् । गोरखाका नेपाली काँग्रेसका नन्द प्रसाद न्यौपानेले भने मास्टर्स गरेका छन् । गोरखाकै नेपाल समाजवादी पार्टी(एकल चुनाव चिन्ह) गोलाकारभित्र हँसिया हथौडा लिएर चुनाव जितेका फणीन्द्र देवकोटाले एमए गरेका छन् । गोरखाकै नेपाली काँग्रेसका सुरेन्द्र राज पाण्डे स्नातक हुन् । 

मनाङका नेपाली काँग्रेसका मुनिन्द्र जङ गुरुङले प्लस २ र मनाङकै स्वतन्त्र राजिव गुरुङले एसएलसी गरेका छन् । 
लमजुङबाट निर्वाचित नेपाली काँग्रेसका टक राज गुरुङले पिएचडी गरेका छन् भने लमजुङबाटै निर्वाचित नेपाली काँग्रेसका भेष बहादुर पौडेलले ब्याचलर गरेका छन् । 

कास्कीबाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (एमाले)का खगराज अधिकारीले मास्टर्स, बेद बहादुर गुरुङले स्नातक र भिम बहादुर कार्कीले ब्याचलर तहको अध्ययन गरेका छन् । कास्कीबाटै निर्वाचित नेपाली काँग्रेसका बिन्दु कुमार थापा र प्रकाश बरालले ब्याचलर गरेका छन् । कास्कीका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का गणेश मान गुरुङले प्रोफिसेन्सी सर्टिफिकेट आई तह अध्ययन गरेको उल्लेख गरिएको छ । 

तनहुँका नेपाली काँग्रेसका अशोक कुमार श्रेष्ठले स्नातक, तनहुँका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का हरि बहादुर चुमानले एसएलसी, तनहुँका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का श्याम राजा महतको प्रोफिसेन्सी सर्टिफिकेट रहेको छ भने तनहुँकै नेपाली काँग्रेसका जित प्रकाश आले मगरको एजुकेशन एन/ए उल्लेख गरिएको छ ।   

स्याङ्जा जिल्लाबाट निर्वाचित हुने नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सीता कुमारी सुन्दास  मास्टर्स, नेपाल कम्युनिष्ट पार्टी (एमाले) कै सुधिर कुमार पौडेलको मास्टर्स, नेपाली काँग्रेसका भोज राज अर्यालको ब्याचलर र नेपाली काँग्रेसकै महेश भट्टराईको प्रोफेसन्सी सर्टिफिकेट रहेको छ ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बाट नेपाली काँग्रेसका महेन्द्र ध्वज जि.सि.को एजुकेशन एन/ए उल्लेख गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का रोशन बहादुर गाहा थापाको एसएलसी, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पदमा जि.सीको स्नातक अध्ययनरत र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का लक्ष्मण बहादुर पाण्डेको ब्याचलर उल्लेख गरिएको छ ।

मुस्ताङका नेपाली काँग्रेसका नम्डु गुरुङ अण्डर एसएलसी हुन् भने नेपाली काँग्रेसका बिकल शेरचनले प्रमाणपत्र तहको अध्ययन गरेका छन् ।  

म्याग्दीका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का हरि बहादुर भण्डारीको एजुकेशन एन/ए रहेको छ भने नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कै रेशमबहादुर जुग्जालीले एसएलसी गरेका छन् । 

बागलुङका नेपाली काँग्रेसबाट निर्वाचित हुने दिपेन्द्र बहादुर थापा प्रोफिसेन्सी सर्टिफिकेट, डिल्ली राम सुबेदी मास्टर्स, जीत बहादुर शेरचन मास्टर्स र दोर्ण कुमार कुवँरले ब्याचलर गरेका छन् । 

पर्वतका नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट निर्वाचित हुने भक्त बहादुर कुवरले स्नातक र मित्रलाल बस्यालले एसएलसी सम्मको अध्ययन गरेका छन् । 

तस्वीर : ढोरपाटन दैनिकबाट