धुसेरी वनमा २४ गते मतदान 

२०७९ मङ्सिर २१ बुधबार १३:२१:०० मा प्रकाशित

रजहर । अन्ततः धुसेरी सामुदायिक वन उपभोक्ता समूह रजहरको अध्यक्ष र सचिव पदमा मतदान हुने भएको छ ।

नयाँ कार्यसमिति चयनका लागि अन्य पदमा सर्वसम्मत भएपनि अध्यक्ष र सचिव पद मतदान प्रक्रियाबाट टुंगो लगाइने भएको हो । यहि २४ गते शनिबार बिहान ८ बजेदेखी साँझ ४ बजेसम्म मतदान समय तोकिएको निर्वाचन समितिका संयोजक जुद्धप्रसाद वाग्लेले जानकारी दिनुभयो । 

अध्यक्ष पदका लागि दुई जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा नारायण सिंह पंगेनी र देवुभक्ति बानियाबीच प्रतिस्पर्धा हुँदैछ । पंगेनीलाई गैँडा र बानियाँलाई बाघ चुनाव चिन्ह प्रदान गरिएको छ । 

त्यस्तै सचिवमा नसिव नेपाल र भोजबहादुर भुजेलको उम्मेदवारी छ । सचिवमा नेपाललाई ट्याक्टर र भुजेललाई घर चिन्ह प्रदान गरिएको छ । 

सर्वसम्मततर्फ उपाध्यक्षमा कमला अर्याल, कोषाध्यक्षमा टिकाकुमारी महतो, सहसचिवमा कृष्णबहादुर अधिकारी रहेका छन् । त्यस्तै सदस्यहरुमा भिमबहादुर परियार, ईन्द्रबहादुर पंजियार, मेगप्रसाद पंगेनी, रामचन्द्र सापकोटा, जौमाया बाचे मगर र ममता विक रहेका छन् । त्यस्तै अन्तरिक लेखा समिति संयोजकमा रामचन्द्र ठकुरी, महिला सदस्यमा दुर्गा सुवेदी र खुला सदस्यतर्फ अजुद्ध प्रसाद वाग्ले सर्वसम्मत भएका छन् । उनीहरु निर्वाचित भएको आधिकारिक घोषणा गर्न भने बाँकी रहेको छ ।

एक वर्ष अघि गठन भएको समितिको कार्यकाल बाँकी नै रहेपनि अधिकांश पदाधिकारी सहित सदस्यले राजिनामा दिएपछि धुसेरी सामुदायिक वनको ३२ औँ वार्षिक साधारण सभाले समिति विघटन गरी नयाँ समिति गठन कार्य अघि बढाएको हो ।