गोर्खा वेलफेयर र जर्जियाको टिमद्वारा विद्यालयमा श्रमदान 

२०७९ माघ ४ बुधबार १६:३७:०० मा प्रकाशित

गैँडाकोट । गोर्खा वेलफेयर ट्रष्ट नेपाल र जर्जीयाको जोआ कम्पनीका टिमले नवलपुरको गैँडाकोट ६ स्थित शिर्जनशिल आधारभुत विद्यालयमा निर्माणाधिन तीन कोठे विद्यालय भवनको निरीक्षणका साथै श्रमदान गरेका छन् । 

सो अवसरमा आयोजित सभामा जर्जियाको टिम लिडर लेनी लि सेल्लरले विद्यार्थीका लागि न्यानो कपडा, खेलकुद सामग्री, शैक्षिक सामग्री सहयोग गर्ने बताउनुभएको थियो । गैंडाकोट नगरपालिकाका शिक्षा शाखा प्रमुख डा. बालकृष्ण चापागाईले सहयोगी जर्जियाको टिम, गोरखा वेलफेयर र भवन निर्माणका संयोजनकर्ता केयरसिं रानालाई धन्यवाद ज्ञापन गर्दै गैँडाकोटमा ई–लाइब्रेरीका लागि सहयोग जुटाउन आग्रह गर्नुभएको थियो । 

गोर्खा वेलफेयर ट्रष्ट नेपालको आर्थिक सहयोग र समुदायको लगानीमा निर्माण भईरहेको विद्यालय भवनको करिब ५० प्रतिशत काम सम्पन्न भएको भवन निर्माणको संयोजन गरिरहनुभएका ट्रष्टका सदस्य केयर सिं रानाले जानकारी दिनुभयो । यहाँ ३ लाख ७० हजार बराबरको छात्र र छात्रका लागि शौचालयको व्यवस्था र विद्यालयमा तारबारको काम थपिएको उहाँले बताउनुभयो । गत मंसिर १४ गते गैँडाकोट नगरपालिकाका नगर प्रमुख एवं नगर शिक्षा समितिका अध्यक्ष मदनभक्त अधिकारीले शिलान्यास गर्नुभएको थियो । 

कार्यक्रममा गोर्खा वेलफेयर ट्रष्ट चितवनका प्रमुख, यरिया वेलफेयर अधिकृत पूर्ण गुरुङ, इन्जिनियर शुभास गुरुङ, भवन निर्माण समितिका अध्यक्ष दुर्गाप्रसाद शर्मा लगायत अभिभावक शिक्षक विद्यार्थीको उपस्थिती रहेको थियो । 

विद्यालयका प्रधानाध्यापक शोभा सापकोटा पौडेल, ज्योती अधीकारी, सरीता माया तामाङले स्वागत मन्तव्य र स्वागत गीत प्रस्तुत गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं गैँडाकोट ६ का वडा अध्यक्ष शुभाष चापागाईले सबैलाई धन्यवाद ज्ञापन गर्दै औपचारीक कार्यक्रम समापन गर्नुभएको थियो । 

यहाँ भुकम्प प्रतिरोधात्मक ट्रष्ट सहितको तीन कोठे भवन बन्दैछ । निर्माण गर्न लागिएको भौतिक संरचनाले गरिब तथा विपन्न परिवारका बालबालिकालाई अध्यापनमा सहज हुने छ । गोर्खा वेलफेयर ट्रष्ट नेपालको १६ लाख ५० हजार रुपैयाँ र बाँकी २ लाख ३ हजार ५ सय ४२ रुपैयाँ समुदायको लगानी रहने गरी १८ लाख ५३ हजार ५ सय ४२ रुपैयाँको लागतमा विद्यालय भवन निर्माण गरिएको हो । विद्यालयमा हाल ५२ जना विद्यार्थी अध्ययनरत छन् ।