जलुके खानेपानीका सञ्चालकद्वारा शपथ ग्रहण 

२०७९ माघ ७ शनिबार १८:४६:०० मा प्रकाशित


गैँडाकोट । जलुके खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका नयाँ कार्यसमिति तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारी तथा सदस्यले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

नयाँ कार्यसमितिलाई निर्वाचन समितिका संयोजक शोभाकान्त काफ्लेले शपथ ग्रहण गराउनु भएको थियो भने निर्वतमान अध्यक्ष मोतिचन्द्र चालिसेले पद हस्तान्तरण गर्नुभएको थियो । सपथ ग्रहणसँगै नयाँ कार्यसमितिले सुरक्षित पानी वितरणका लागि प्रतिवद्ध रहेको बताएका छन् । 

जलुके खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको १० औँ अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमिति तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारी तथा सदस्यले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । शपथ ग्रहणपछि नव निर्वाचित अध्यक्ष जगन्नाथ पौडेलले सुरक्षित पानी वितरणमा समिति प्रतिवद्ध रहेको बताउनुभयो । 

पद हस्तान्तरण गर्दै जलुके खानेपानीका निर्वतमान अध्यक्ष मोतिचन्द्र चालिसेले जलुके खानेपानी पानीको स्रोतमा बलियो रहेको बताउनुभयो । गुणस्तर पानी वितरणमा संस्थाले काम गरेको बताउदैँ नयाँ कार्यसमितिलाई वर्तमानको चिन्ता नलिई भविष्यको योजना बनाउन सुझाव दिनुभयो ।  

गैँडाकोट १ का वडा अध्यक्ष सुरेन्द्रप्रसाद रेग्मीले वडासँग पनि सहकार्य र समन्वय गरेर अगाडी बढ्न आग्रह गर्नुभयो ।  

कार्यक्रममा बोल्दै निर्वाचन समितिका संयोजक शोभाकान्त काफ्लेले खानेपानीको क्षेत्रमा दीर्घकालिन योजना बनाएर सबैलाई समेटेर अघि बढ्न सुझाव दिनुभयो ।  शपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रममा निवार्चन समिति सदस्य मुना धनन्जय, नेपाली कांग्रेस गैँडाकोट नगर समितिका सभापति बद्री सापकोटा, नेकपा एमाले गैँडाकोटका नगर कमिटी अध्यक्ष षडान्नद लामिछाने, माओवादी केन्द्र गैँडाकोटका नगर कमिटीका कार्यवाहक अध्यक्ष प्रकाश अधिकारी, गैँडाकोट १ का निर्वतमान अध्यक्ष हरीप्रसाद सापकोटा, सल्लाहकार लालमणी पौडेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

शुभकामना मन्तव्य राख्दै अतिथिहरुले जलुके खानेपानीलाई नमुना संस्था बनाउन, दीर्घकालिन योजना बनाएर अगाडी बढ्न, खर्च कटौती गर्न, नीति, विधि र प्रविधि अनुसार अगाडी बढ्न, सुशासन कायम राख्न सुझाव दिएका थिए । कार्यक्रममा स्वागत मन्तव्य निर्वाचन समिति सदस्य पोषणराज सुवेदीले राख्नुभएको थियो । 

संस्थाको १० औँ अधिवेशनबाट सर्वसम्मत निवाृचित हुनेमा अध्यक्षमा जगन्नाथ पौडेल, उपाध्यक्षमा भगवान लम्साल, सचिवमा शालिकराम आचार्य, कोषाध्यक्षमा चिनिमाया श्रेष्ठ र सह– सचिवमा एकराज सापकोटा रहनुभएको छ । त्यस्तै सदस्यमा दलबहादुर राना, लोककुमारी न्यौपाने, खेमप्रसाद गिरी, गंगाबहादुर जि.सि, प्रमानन्द चालिसे, शिवप्रसाद भुसाल र श्रीप्रसाद अधिकारी रहनुभएको छ । 

लेखा समिति संयोजकमा विश्वराज लम्साल, सदस्यमा जीवनकुमारी कुमाल र शिवहरि पौडेल निर्वाचित हुनुभएको हो । त्यस्तै अनुगमन तथा मूल्याङ्कन समिति संयोजकमा ध्रुवप्रसाद अधिकारी, सदस्यहरुमा दिलमाया रानाभाट, आत्मराम पाठक र उमानाथ ढकाल रहनुभएको छ ।

केही सदस्य पदमा मतदान गर्ने मिति तोकिएपछि पनि सर्वसम्मत चयनको प्रयास गरिएको थियो । केही सदस्यले निर्वाचनको अघिल्लो दिन उम्मेदवारी निस्क्रिय पारी फिर्ता लिएको जनाएपछि निर्वाचन समितिले सर्वसम्मत भएको घोषणा गरेको हो ।