जर्जियाको टिमद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण 

२०७९ माघ ९ सोमबार १३:३०:०० मा प्रकाशित

गैँडाकोट । जर्जियाको जोआ कम्पनीबाट आएको एक समूहले नवलपुरको गैँडाकोट ६ स्थित शिर्जनशील आधारभुत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा, खेलकुद र शैक्षिक सामग्री प्रदान गरेका छन् । 

विद्यालयमा अध्ययनरत विपन्न परिवारका विद्यार्थीलाई अध्ययनमा सहज् होस भनि उक्त सामाग्री वितरण गरेको हो । गोर्खा वेलफेयर ट्रष्ट नेपालको आर्थिक सहयोग र समुदायको लगानीमा निर्माण भईरहेको विद्यालयमा एक हप्तादेखी श्रमदान गरिरहेको टोलीले पोशाककै कारण विद्यार्थीमा समस्या देखेपछि न्यानो कपडा वितरण गरेको हो । प्रारम्भिक बाल विकास कक्षामा अध्ययनरत ३१ जना, कक्षा १ र २ का १०/१० जना गरी ५१ जना विद्यार्थीलाई ट्रयाक सुट, खेल सामाग्री, कपि कलम र शिक्षिकाहरुलाई कुर्ता सुरुवाल प्रदान गरिएको हो । यहाँ जर्जियाको जोआ कम्पनीबाट आएको १२ जनाको समूहले श्रमदान गरीरहेको छ ।

जर्जियाका टिम लिडर लेनी लि सेल्लरले विद्यार्थीलाई अध्ययनमा सहजता प्रदान गर्न पोशाक लगायत शैक्षिक सामाग्रीको आवश्यकता महशुस गरी सहयोग गरेको बताउनुभयो । भवन निर्माणको संयोजन गरिरहेका ट्रष्टका सदस्य केयर सिं रानाले विद्यार्थीको उज्जवल भविष्यका लागि आफु निरन्तर लागिरहेको बताउँदै आवश्यक सहयोग जुटाउने बताउनुभयो । 

कार्यक्रममा गोर्खा वेलफेयर ट्रष्ट चितवनका प्रमुख, यरिया वेलफेयर अधिकृत पूर्ण गुरुङ, इन्जिनियर शुभास गुरुङ, भवन निर्माण समितिका अध्यक्ष दुर्गाप्रसाद शर्मा लगायत अभिभावक शिक्षक विद्यार्थीको उपस्थिती रहेको थियो । विद्यालयका प्रधानाध्यापक शोभा सापकोटा पौडेलले सहिजकरण गर्नुभएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं गैँडाकोट ६ का वडा अध्यक्ष शुभाष चापागाईले सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । 

यहाँ करिब २५ लाख बराबरको लागतमा विद्यालय भवन, शौचालय र विद्यालय तारबारको काम चलिरहेको छ ।