गण्डकीमा मन्त्रालय भागबन्डामा अझै किचलो, मुख्यमन्त्री अधिकारी पुगे काठमाडौँ

२०७९ माघ १० मंगलबार ०६:०४:०० मा प्रकाशित


पोखरा ।सत्ता गठबन्धन दलहरूबीच मन्त्रालयको भागबन्डा नमिल्दा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी सोमबार शीर्ष नेतासँग परामर्श लिन काठमाडौँ पुग्नुभएको छ ।

सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार कार्यविभाजन नियमावली, २०७४ संशोधन गरेर मन्त्रालय संख्या १२ बाट ७ वटा बनाउने निर्णय गरेको थियो । तर, भागबन्डा नमिल्दा अधिकारीले मन्त्रिपरिषद्लाई पूर्णता दिन सक्नुभएको छैन् । 

सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयको संख्या ७ बनाउने निर्णय गरेको सरकारकी प्रवक्ता समेत रहनुभएकी विना विभागीय मन्त्री सिता सुन्दासले बताउनुभयो । पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएसँगै अधिकारीले विश्वासको मत लिएको १ साता भइसक्यो । तीन मन्त्रीलाई साथमा लिएर शपथ लिएका अधिकारीले अहिलेसम्म कुनै मन्त्रीले जिम्मेवारी दिन सक्नुभएको छैन् । सोमबार मन्त्रालय घटाउने विषयमा सहमति जुटे पनि भागबन्डा नमिल्दा मन्त्रिपरिषद् विस्तार हुन सकेन । 

सोमबारको सत्ता गठबन्धनको बैठकमा एमालेले मुख्यमन्त्रीसहित ४, माओवादीले २ र राप्रपाले १ मन्त्रालय पाउने विषयमा छलफल भएको थियो । तर, सहमति नटुटेपछि मुख्यमन्त्री अधिकारी काठमाडौँ पुगेको स्रोत बताउँछ । यता माओवादी एक सांसदका अनुसार सोमबारको बैठकमा सत्ता गठबन्धनको बैठकमा मुख्यमन्त्रीसहित एमालेबाट ३, माओवादीबाट ३ र राप्रपाबाट १ मन्त्री बन्ने सहमति नजिक पुगेको थियो । अब अधिकारी पोखरा आएपछि मात्र मन्त्रिपरिषद् बैठक विस्तार गर्ने तयारी छ ।

अनलाई खबरबाट