बालमनोविज्ञानमा जोड दिँदै गैँडाकोटका विद्यालयहरु 

२०७९ माघ १० मंगलबार १२:१९:०० मा प्रकाशित

गैँडाकोट । छिनमै हाँस्छन्, छिनमै नाच्छन्, छिनमै अभिनय गर्न थाल्छन् । यो रंगमञ्चको दृश्य होइन, स्कुलको कक्षा कोठा हो, बालबालिकाहरुले यसरी नै सिकिरहेका हुन्छन् । यही माघ १२ गते बसन्त पञ्चमी अर्थात् सररस्वती पूजाको दिन विशेषगरि बालबालिकालाई अक्षरारम्भ गराउने गरिन्छ । यस दिन अक्षरारम्भ गराउँदा बालबालिकालाई ज्ञान, बृद्धि, विवेक प्राप्त हुन्छ भन्ने विश्वास रहेको छ । सोही अनुरुप विभिन्न विद्यालयमा भर्ना अभियानसँगै अक्षरारम्भका कार्यक्रम हुने गरेका छन् । माघ र फागुन महिनालाई शिशिर ऋतु मानिएकाले यो ऋतुमा पर्ने पञ्चमीलाई श्रीपञ्चमी भनिएको हो ।

विद्यालयहरुमा विशेष पूजा–आजाका साथ अक्षरारम्भ गर्ने गरिन्छ । साथै यसदिन धेरै विद्यालयले भर्ना गर्ने विद्यार्थीलाई निःशुल्क भर्ना पनि गर्छन । विभिन्न रङ्गहरुले धेरै विद्यालयहरु सजिसजाऊ हुन्छन् । बालबालिकाहरु सिकाइको नयाँ यात्राको थालनीमा हुन्छन् । 

जनक नमुना माध्यमिक विद्यालय

जनक नमुना माध्यामिक विद्यालयका प्रधानाध्यापक चुडामणि शर्मा कँडेलले विद्यालय भित्र बालबालिकाको प्रारम्भीक अध्ययनगर्ने वातावरण तयार पारेको बताए । साना कक्षामा पठन पाठन भन्दा पनि व्यवहार कुशल ज्ञान हासिल गराउन विद्यालय तत्पर रहेको उनले बताए । सानो कक्षाबाट रटानको कुरा नभई आफ्नो काम आफैँ गर्ने, आफुभन्दा ठुला दाइ, दिदि अभिभावकलाई सम्मान गर्र्ने र साना–सानाभाइ बैनीलाई माया गर्न सिकाउने शिक्षा आवश्यक भएकाले विद्यालयले सोही ज्ञान दिँदै आएकोे बताए । 

बालबालिकाको क्षमता, उनीहरुको उमेर अनुसार अभिभावकले व्यवहार गर्नुपर्ने बताए । उनले भने “अभिभावकले पनिबौद्धिक, संवेगात्मक, मानसिक विकासमा ध्यान दिँदै सिकाइको वातावरणमा सबै सजग हुन उनले आग्रह गरे । बालमैत्री वातावरणमा खेलाउँदै सिकाएको उनको भनाई छ । 

कालिका नमुना माध्यमिक विद्यालय

कालिका नमुना माध्यामिक विद्यालयले बालबालिकालाई जिवनउपयोगी र व्यवहारिक सीप सिकाउँदै आएको छ । साना–बालबालिकाको मनोविज्ञान बुझेर उनिहरुलाई खुसी बनाउँदै व्यवहारिक सीप र सिकाइ गरिएको प्रधानाध्यापक प्रजानाथ कँडेलले बताए । उनले बालमैत्री वातावरण बनाउन, बालमैत्री भवन, पोषणको व्यवस्था, शिक्षण सामाग्रीको सुविधा र सिक्ने वातावरण पनि सोही किसिमको बनाउन विद्यालय लागि परेको बताए ।

बालमैत्री, शौचालय, र अन्य भौतिक संरचना बनाइरहेको छ । अबको १ महिनामा पूर्ण रुपमा बालबालिकाको लागि बालमैत्री भवनले  पूर्णता पाउने कंडेलले बताए । खेल खेल्नका लागि छुट्टै स्थान बनाएर विद्यालयले खेल खेलाउने गरेको छ । बालबालिकाको लागि वि.सं. २०७७ सालबाट निश्चित पाठ्यक्रम बनेको र सोही अनुसार सिकाइ उपलब्धी निर्धारित रहेको छ । अब अभिभावक पनि सचेत हुनुपर्ने उनले बताए । बाटो हिँड्न, बालबालिकाको आफ्नो जिम्मेवारी आफैँ बहन गर्न सिकाउने उनले बताए । 

विजय सामुदायिक शिक्षा सदन

बालबालिकाले रमाएर हाँस्दै खेल्दै पढ्न खोजिरहेका हुन्छन् । हरेक विद्यालय र घरमा यस्तै वातावरण बनाउन आवश्यक छ । गैँडाकोट ५ मा रहेको विजय सामुदायिक शिक्षा सदनले बालबालिकाको मनोविज्ञान बुझेर अध्यापन गराउँदै आएको छ । विजय सामुदायिक शिक्षा सदनका विद्यार्थी गीत गाउँदै अंकहरु सिक्दै छन् । उनिहरु गीत गाउँदै, खेल्दै रमाइ–रमाइ सिकिरहेका छन् । विद्यालयले बालबालिकाको मनोविज्ञान बुझेर, गाउँदै रमाउँदै सिकाइरहेको छ । विद्यालयमा बालबालिकाका लागि आवश्यक वातावरण र उनिहरुको रुचीअनुसार अध्ययन अध्यापन भइरहेको विद्यालयका प्राथमिक तह प्रमुख कमला रेग्मीले बताइन् । उनले भनिन– “बालबालिकाको रुचि के छ, उनिहरु के चाहन्छन, सोही अनुसार नै सिकाइरहेका छौँ ।”

विद्यालयकी शिक्षिका प्रतिभा गौतम बालबालिकासँगै रमाउँछिन् । खेल्दै नचाउँदै पढाउने उहाँको कला छ । पारिवारिक वातावरणमा मातृत्वको माया सहित सिकाउँछिन्  । उनले भनिन् –“हामीहाम्रै छोराछोरी जस्तै माया गरेर सिकाउँछौ । उनिहरुको बानी र इच्छा हामीलाई सबै थाहा हुन्छ । सोही अनुसार नै हामीले व्यवहार गर्छौ हामीसँग बच्चा यति रमाउँछन् घर जस्तै मानेर सिक्छन् ।”

विद्यालयकी सिस्टर सरिता दराई बालबालिकालाई घरबाट विद्यालयमा ल्याउने र घरसम्म सुरक्षित पु¥याउने भूमिका निर्वाह गर्छिन । कसरी सुरक्षित विद्यालय ल्याउने र पु¥याउने उनी त्यसैमा तल्लिन छिन् । उनले भनिन– “बालबालिकालाई लाइनलगाएर बसमा राख्छौँ । बाहिर हात ननिकाल्न भन्छौँ । फेरि घर पु¥याउँदा पनि आँफै बाटो कटाएर, अभिभावककै हातमा सुम्पन्छौँ ।”

बालबालिकालाई उनिहरुको व्यवहार बुझेर, मनोविज्ञान बुझेर अध्ययन गराउन विद्यालय र अभिभावकको सहकार्य जरुरी छ । उनिहरुसंग खेल्दै सिकाइ सहजीकरणको वातावरण वनाएको विजय सामुदायिक शिक्षा सदनका प्रधानाध्यापक रेखा श्रेष्ठको भनाइ छ । उनले बालबालिकालाई विद्यालयमा शान्त, रमणीय, सुरक्षित वातावरणमा अध्यापन गराएको बताइन् । 

गैँडाकोट इङ्लिस स्कुल

गैँडाकोट इङ्लिस स्कुलमा बालबालिकाको मनोविज्ञान बुझेर अध्यापन गराइन्छ । बालबालिकाहरु हास्दै रमाउँदै उनिहरुको अनुकुलतामा खेल्दै रमाउँदै गरेको देख्न सकिन्छ । विद्यालयको प्रमुख उद्देश्य नै बालबालिकाको मनोभावना बुझेर अतिरिक्त बोझ नदिई पठन–पाठन गराउनु रहेको प्रधानाध्यापक हिरालाल अर्यालले बताए । 

यहाँ बालबालिकालाई उनिहरुको व्यवहार बुझेर सिकाइ सहजीकरण गरिन्छ । प्रत्येक बालबालिकामा कुनैपनि कुरा ग्रहण गर्ने तरिका र क्षमता भिन्न–भिन्नै हुन्छ । पढेको, हेरेको, सुनेको कुरा बुझ्न र स्मरण गर्न सक्ने क्षमतामा पनि एकरुपता हुँदैन । कोही बालबालिका तीक्ष्ण बुद्धिका हुन्छन् त कोही कमजोर । त्यसैले बच्चाहरुलाई एकअर्कासँग तुलना गरेर हेर्नु सान्दर्भिक नहुने गैँडाकोट इङ्लिस स्कुलका शैक्षिक सुपरिवेक्षक विना कोइरालाको भनाइ छ । हरेक बालबालिकाको क्षमता र अवस्था, सिकाइको प्रक्रिया फरक फरक हुने भएकाले सोही अनुसारको व्यवहार विद्यालयमा भइरहेको उनले बताइन। कोइरालाले विद्यालय, अभिभावकको सहकार्यले बालबालिकाको मनोविज्ञान बुझ्न सकिने बताउँछिन् । उनले बालमनोविज्ञान बुझेर व्यवहार गर्न र बालविकासका लागि अभिभावले आफ्नो भूमिका निभाउन पर्ने बताइन् । 

विद्यालयले बालबालिका सँगै अभिभावकसँग पनि सहकार्य गर्ने गरेको छ । बालबालिकाको सिकाइमा अभिभावक र विद्यालयको समन्वय भएमा बालबालिकाले सहजै सिक्ने वातावरण बन्ने विद्यालयका प्रधानाध्यापक हिरालाल अर्यालको भनाई छ ।  विद्यालयकी प्राथमिक तह संयोजक विन्नी गुरुङले बालमनोविज्ञान बुझेर सिकाइ सहजिकरण गरिरहेको बताइन् । उनले खेल खेलाउँदै पढाउने गरेको र विद्यालयमा बालबालिकाका लागिग ेम स्टेशन पनि रहेको बताइन् । जसमा उनिहरु सहजै रमाउँदै सिक्न र खेल्न पाउँछन् । 

कन्टिनेण्टलबोर्डिङ स्कुल

कन्टिनेण्टल बोर्डिङ स्कुलले बालमनोबिज्ञानमा आधारित रहेर अध्यापन गराइरहेको प्रधानाध्यापक विनोद पौडेलले बताए । उनले शिक्षकसँग कति ज्ञान छ ? भन्ने नभई बालबालिकाले के सिक्न चाहेको छ ? कसरी सिक्न चाहेको छ ? सोही अनुसार नै सिकाउनुपर्ने उनको भनाई छ । बालबालिकाका आवेग संवेगलाई ख्याल गरेर अध्यापन गराउनुपर्ने पौडेलले बताए । 

पहिले जस्तै अहिले पनि अध्ययन अध्यापन गराएर नहुने उनले बताए । उनले भने “अहिले बालबालिकाले देखेर, भनेर, छोएर, आफैँ सहभागि भएरमात्र प्रभावकारी रुपमा सिक्न सक्दछन् ।” उनिहरुलाई सोहीअनुसार सिक्ने वातावरण विद्यालयले बनाउनुपर्ने आवश्यकता छ । कन्टिनेण्टल बोर्डिङ स्कुलले सोही माध्यमबाट अध्ययन अध्यापन गराउँदै आएको प्रधानाध्यापक पौडेलले बताए । 

यस  विद्यालयमा बालबालिका सुहाउँदो कक्षाकोठा रहेको छ । उनिहरु त्यसैमा रमाएर सिक्दै आएका छन । विद्यालयसँगै अभिभावकले पनि घरमा बालमैत्री वातावरणमा सिकाउन जरुरी रहेको छ । व्यवहारिक ज्ञान दिनका लागि विद्यालय अगाडी बढेको विद्यालयका प्रधानाध्यापक विनोद पौडेलले बताए । 

बालविकास इङ्लिस बोर्डिङ् स्कुल

बालविकास इङ्लिस बोर्डिङ् स्कुलले सीप र संस्कृतिमा आधारित शिक्षा दिदैँ आएको छ ।बालबालिकालाई विद्यालयमा मनोवैज्ञानिक रुपमा सुरक्षित महसुस गराउनुपर्छ । भोको पेटमा अध्यापन नगराने, बालमनोविज्ञान बुझेर अध्यापन गराउन सकेन भने बालबालिकाले नसिक्निे बालविकास इङ्लिस बोर्डिङ् स्कुलका प्रधानाध्यापक दिवक रावतले बताए । 

सुरक्षा भन्नु दौँडिदा, लड्दा, चोट नलाग्नु मात्रै होइन उनीहरुले मनोवैज्ञानिक रुपमा पनि सुरक्षित महसुस गर्नु हो । यदि बालबालिकाले सुरक्षित महसुस गरेन भने सिकाई हुँदैन । त्यस्तै बालबालिकाले भोको पेटमा सिकाइ गर्दैनन् । विद्यालयमा धेरै समय राखेर अध्यापन गराउनु भन्दा जति विद्यालयमा बस्छन्, खुसी साथ सिक्ने वातावरण बनाउनु पर्ने उनको तर्क छ । 

विद्यालयले बालबिकासमा जोड दिदैँ सिकाइ अगाडी बढाएको छ । विद्यालयमा बच्चा आएपछि बानी व्यवहार विकासमा जोड दिइरहेको उनले बताए । पूर्व लेखन, पठन सीपको विकास गराउँदै आएको  छ । विद्यालयले सुनाई बोलाईसँगै सिकाइलाई अगाडी बढाएको छ । बालबालिकालाई उनिहरुकै रुची अनुसारको सिकाई र वातावरण बनाएर अगाडी बढेको छ ।