वैकुण्ठनाथ गुरुकुल संचालनका लागि लंकुमा महायज्ञ हुने          

२०७९ माघ १७ मंगलबार ०८:१७:०० मा प्रकाशित

              
चितवन । भरतपुर –४, धर्मचोकमा रहेको लक्ष्मीवैकुण्ठनाथ मन्दिरले महायज्ञ गर्ने भएको छ । श्री वैकुण्ठनाथ परमवैदिक विद्याप्रतिष्ठान (गुरुकुलम) को संचालन र  सर्वागिंण विकासका लागि बृहद् अक्षयकोष स्थापनाका लागि  माघ २१ देखि फागुन ६ गतेसम्म श्री लक्ष्मीवैकुण्ठनाथ वैदिक विद्या संरक्षण महायज्ञ महोत्सव २०७९ हुने भएको छ । आयोजकले सोमबार पत्रकार सम्मेलन गर्दै कार्यक्रमबारे जनाएको छ ।


महायज्ञको प्रथम चरण अन्तर्गत माघ २२ देखि  २८ सम्म्म  यशोदादेवी कौण्डिन्य माताको प्रवचन रहनेछ ।  द्वितीय चरणमा माघ २९ देखि फागुन ६ सम्म अन्तर्रास्ट्रिय  ख्यातिप्राप्त  कथावाचक ईश्वरकृष्ण महाराजले राम–कृष्णकथामृत  प्रवचन हुने आयोजकले जनाएको छ । 


महायज्ञको उद्घाटन हुन एक दिन अगि माघ २० गते दिउसो २ बजे मोटर–साइकल र्याली, महायज्ञको पहिलो दिन माघ २१ गते बिहान १० बजे लीला– झाँकीसहित विशाल शोभायात्रा एवम्  उद्घाटन हुने छ ।  


गुरुकुलमा  २०७१ सालमा सम्बद्ध  प्रशासनिक निकायबाट कक्षा ६ को  मान्यता प्राप्त गरी  २०७६ सालदेखि  क्रमशः कक्षा ९ हुँदै यसै वर्षदेखि  कक्षा १२ सम्म संचालन भइरहेको छ । यस गुरुकुलमा अहिले देशका विभिन्न क्षेत्रबाट  आएका ५५ जना विद्यार्थीहरूले आवासभोजनसहित निः शुल्क शिक्षा भइरहेको आयोजकले जनाएको छ ।