गैँडाकोटमा मात्र दर्तावाल तीन च्याउ फर्म, छोटो समयमा मनग्य आम्दानी गर्दै 

२०७९ माघ १७ मंगलबार १०:२६:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोटमा मात्र दर्तावाल तीन च्याउ फर्म रहेका छन् । फर्म दर्ता गरेर च्याउ खेती सुरु गरेका उनिहरुले घाटा व्यहोर्नुपरेको छैन । व्यक्तिगत र समूहमार्फत गरी च्याउ खेती गरिरहेका छन् । च्याउ खेती गर्ने शौख भए र मिहिनेत गरे आफ्नै गाँउ ठाउँमा नै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् । 

“केहि गर्छु भन्ने ईच्छाशक्ति भयो भने न त पैसाले रोक्दो रहेछ, न त उमेरले नै छेक्दो रहेछ । मात्र काम गर्ने जोश जागर चाहिँदो रहेछ ।” च्याउ व्यवसायी नारायणगढ चितवनका ६१ वर्षिय कर्णलाल श्रेष्ठले भने । श्रेष्ठ गैँडाकोट ५ मा रहेको छत्राक एग्रो फर्मका सञ्चालक हुन् उनी यहाँ २ वर्षदेखि च्याउखेतीमा नै रमाइरहेका छन् । 

६ कठ्ठा क्षेत्रफलमा ३ वटा घर टहरा बनाएर ६५ लाख लगानीका साथ सुरु गरेकोे च्याउ खेतीले उनलाई मनग्य आम्दानी दिएको छ । उनले अहिले महिनामा कम्तीमा १ लाख आम्दानी गर्दै आएका छन् । उनले भने – “६५ लाखको लगानीमा सुरु गरेको हो । ६ कठ्ठा क्षेत्रफल छ वर्षमा १ लाख लिजको पैसा लाग्छ । तर पनि आम्दानी राम्रो छ । खर्च कटाएरै महिनामा कम्तीमा १ लाखको व्यापार हुन्छ । वर्षमा कम्तीमा पनि २० हजार केजी च्याउ बिक्री गर्दै आएको छु ।”

भौतिक संरचना निर्माणका लागि बढी रकम खर्च गरेको उनले बताएका छन् । पराल सिजन बाहेकको समयमा महङ्गो पर्ने भएकाले पनि पहिले नै किनेर राख्नका लागि र अन्य कामका लागि छुट्टै टहरा बनाएको उनको भनाई छ । 
नारायणगढमा व्यापार गर्ने उनले नारायणी नदी नजिकै गैँडाकोट ५ मा च्याउ खेती गरिरहेका छन् । बाजेसँग नै अन्य व्यापार व्यवसायमा लागेका उनलाई ३० वर्षपछि किसान हुन मन लाग्यो । व्यापार भन्दा खेतीमा फाइदा देख्ने उनी गर्मी, जाडो दुवै सिजनमा च्याउ खेती गर्दै आएका छन् । यसको बजार सजिलै र मुल्य राम्रो पाएको उनको अनुभव छ । 

उनले भने – “व्यापार, व्यवसाय भन्दा च्याउ खेति राम्रो छ । ३० दिनमै उत्पादन दिन्छ । मुनाफा पनि धेरै हुन्छ ।”
उनलाई गैँडाकोट नगरपालिकाले पनि सहयोग गरेको छ । पराल बफाउनका लागि आवश्यक पर्ने अटोक्लेव मेसिन नगरपालिकाको ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको हो । स्टिलको १० लाखको अटोक्लेव मेसिनमा पराल पकाइ बफाएर उनले च्याउ उत्पादन गरिरहेका छन् । 

उनी जस्तै गैँडाकोट १ मा अनिता च्याउ फर्मको नाममा अनिता न्यौपानेले च्याउ खेती गर्दै आइरहेकी छन् । सुरुमा च्याउ खेती गर्न निकै गाह्रो महशुस गरेकी उनले अनुभव बटुल्दै जाँदा अहिले यसैलाई आम्दानीको स्रोत बनाएकी छन् । कोरोनाको महामारीसँगै विदेशबाट श्रीमान नविन न्यौपाने फर्केपछि परिवार नै मिलेर च्याउ खेती सुरु गरेकी हुन् । उनले भनिन –“श्रीमान कोरोनाका कारण कतारबाट घर फर्किएपछि च्याउ खेती सुरु गरेको हो । सुरुमा त बिग्रीयो । घाटा पनि लाग्यो पछि राम्रो हुँदै आयो ।” 

अन्य काममा जस्तै च्याउ खेतीमा पनि मिहिनेत गर्नुपर्ने अनिताको तर्क छ । बिहानदेखी राती अबेरसम्म च्याउकै हेरचाहमा व्यस्त हुने अनितले चिसो समयमा बढी राम्रो तर्क गर्छिन । जाडो समयमा मासिक २–३ लाख सम्म आम्दानी हुने गरेको उनले बताइन् । उनले भनिन – “ परिवार पनि सँगै हुने भइयो । घाम, पानी, हावा, तापक्रम सबै मिलाएर गर्नुपर्छ उत्पादन राम्रो हुन्छ ।”

अर्को दर्तावाल च्याउ फर्म हो, गैँडाकोट ४ मा रहेको शिवशक्ति कृषक समूह । जुन समूहद्वारा सञ्चालित छ । ५० जना महिलाले ३ लाखबाट सुरु गरेको च्याउ फर्म ५ वटा टनेलमा रहेको छ । ४ वर्षअघि गैँडाकोट नगरपालिकाको डेढ लाख सहयोगमा सुरु गरेको फर्मले सामुहिक एकताको सन्देश मात्र दिएको छैन । धेरै थोरै आम्दानी पनि गराएको छ । समूहका अध्यक्ष संगीता पण्डितले आएको नाफा समूहमा नै राखी सामुहिक रुपमा सञ्चालन गर्ने गरेको बताइन् । निरन्तरको लगाव भए यो आम्दानीको उपयुक्त माध्यम हुन सक्ने उनको तर्क छ । 

यसमा नगरपालिकाले पनि सहायता प्रदान गर्ने गरेको छ । कृषि शाखा गैँडाकोटका नायब प्राविधिक सहायक सुरक्षा पौडेलले गैँडाकोटमा च्याउ खेतीको सम्भावना धेरै रहेको बताइन् । नगरपालिकाले विभिन्न समयमा अनुदान, किसानका लागि सहुलियत र अन्य कार्यक्रमहरु सञ्चालन गरेर अगाडी बढेको उनी बताउँछिन् । उनले भनिन, “नगरपालिकाले किसानका लागि सहयोग र अनुदानका कार्यक्रम सँगै प्रोत्साहन गरेको छ । अहिलेसम्म जम्मा गैँडाकोट नगरपालिकामा ३ वटा च्याउ फर्म दर्ता छन् ।”