गैँडाकोटको नगर प्रज्ञा प्रतिष्ठान ऐन : अक्षय कोषको स्थापना प्रतिष्ठानको निर्णय अनुसार

२०७९ माघ १७ मंगलबार १७:००:०० मा प्रकाशित


गैँडाकोट । कला, साहित्य, संस्कृति र सङ्गीतको प्रवर्धन तथा संरक्षणका लागि गैँडाकोटले ऐन बनाएको छ । मंगलबार गैँडाकोटको नगरसभाले गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठान ऐन पारित गरि लागु गरेको छ । 

नगरसभाबाट पारित नीति, कार्यक्रम र बजेटको सीमाभित्र प्रज्ञा सभाबाट स्वीकृत कार्यक्रम गर्न सक्ने नगरपालिकाको अभिन्न अंगको रुपमा गँैडाकोट नगर प्रज्ञा प्रतिष्ठान रहनेछ । यस प्रतिष्ठनले नगर क्षेत्र भित्र रहेका साहित्य, कला, संगीत र संस्कृतिको अध्ययन, अनुसन्धान, सम्बद्र्धन र विकासका लागि कार्यक्रम सञ्चालन गर्नेछ । नगरभित्रका प्राज्ञ सदस्यहरुको सूचिकरण समेत यस प्रतिष्ठानले गर्नेछ । यस प्रतिष्ठानले विश्वविद्यालय, विद्यालयहरुसंग सहकार्य गरि साहित्य कला संस्कृति संरक्षणका लागि सहकार्य गर्दै छुट्टै पढाइ गर्न सक्ने बाटो ऐनमा उल्लेख गरिएको छ । 

यस ऐनले नगरपालिका भित्र कसैले आफ्ना माता, पिता, गुरुवर, मान्यजन, नाता सम्बन्ध, ऐतिहासिक स्थान विशेष, आदिको नाममा कुनै कार्यक्रम आयोजना गर्न चाहेमा वा पुरस्कार, सम्मान अर्पण गर्न, अक्षय कोष स्थापना गर्न चाहेमा प्रज्ञा प्रतिष्ठानको निर्णय अनुसार कार्यान्वयन गर्नुपर्ने व्यवस्था उल्लेख गरेको छ । प्रज्ञा प्रतिष्ठान अन्तर्गत प्राज्ञ सदस्यहरु, प्रज्ञा सभा, प्रज्ञा परिषद् र विषयगत विभागहरु रहनेछन् । विषयगत विभागहरु अन्तर्गत कला विभाग, साहित्य विभाग, संगीत विभाग र संस्कृति विभाग रहने व्यवस्था रहेको छ । प्रज्ञा सभाको कुलपति नगरप्रमुख रहनेछ । प्रज्ञा सभामा नगरउपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, नगर शिक्षा अधिकारी, नगरकार्यपालिका सदस्यहरु मध्येबाट कम्तिमा एक जना महिला सहित नगरकार्यपालिकाले तोकेका तीन जना सदस्य, सूचिकृत सर्जकहरु मध्येबाट मनोनित २० जना सदस्य, विषयगत विज्ञहरु मध्येबाट कुलपतिले तोकेको एक जना सदस्य सचिव रहने व्यवस्था रहेको छ । 


१२ आँै नगरसभामा गैँडाकोट ५ का वडा अध्यक्ष एवं सामाजिक विकास समिति संयोजक रत्नप्रसाद सापकोटाले गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठान ऐन २०७९ प्रस्तुत गर्नुभएको थियो । नगरसभाले ऐन सर्वसम्मत रुपमा पारित गरेको छ ।