गैँडाकोटको ६ करोड १८ लाख रुपैयाँ बजेट संशोधन 

२०७९ माघ १८ बुधबार १६:०७:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट नगरपालिकाले ६ करोड १८ लाख रुपैयाँ बजेट संशोधन गरेको छ । 

नगरपालिकाको आय वृद्धि भएपछि कार्यपालिकाले तय गरेको योजनामा नगर सभा सदस्यले खर्चका लागि अनुमोदन गरेका हुन् । तय गरिएका योजना कतिपय नाफा कमाउने उद्देश्यले खोलिएका संस्थामा लगानी गरेको भनेर आलोचित भएपनि नगर सभा सदस्यले संशोधित बजेट पास गरे । अधिकांश नगर सभा सदस्यले यस्ता विषयमा प्रश्न समेत गरेनन् । गत असार १० गते आँफै पास गरेको बजेटलाई नगर सभा सदस्यले संशोधन मार्फत अन्यत्र खर्च गर्न स्वीकृत प्रदान गरेका हुन् ।  

गत असारमा चालु आर्थिक वर्षमा १ अर्ब २ करोड ३१ लाख २ हजार रुपैयाँको बजेट प्रस्तुत भएको थियो । यस वर्ष ढुङ्गा गिट्टी बालुवा बेचबिखनबाट थप २ करोड, प्रशासनिक दण्ड जरिवाना र जफतबाट २ करोड र अघिल्लो आर्थिक वर्षको अल्याबाट २ करोड १८ लाख थप हुने प्रक्षेपण गरिएको छ । यो सँगै नगरपालिकाको बजेट १ अर्ब ८ करोड ४९ लाख २ हजार अनुमान गरिएको छ । 

मंगलबार बाह्रौ नगर सभामा नगर उप प्रमुख शान्ति कोइरालाद्वारा प्रस्तुत ६ करोड १८ लाख रुपैयाँको संशोधित बजेट सभाले अनुमोदन गरेको हो । सम्पन्न हुन नसकेका कार्यक्रमहरुलाई आगामी दिनमा स्रोतको सुनिश्चित गरी सम्पन्न गर्दै जाने सभामा उप प्रमुख कोइरालाले बताउनुभयो । 

नगरपालिकाले चालु आर्थिक वर्षको हालसम्म आन्तरिक राजस्वतर्फ २ करोड ३८ लाख ७६ हजार मात्र संकलन गरेको छ । आन्तरिक राजस्वतर्फ ६ करोड ३४ लाख आय हुने प्रक्षेपण गरिएको थियो । त्यस्तै प्रशासनिक दण्ड जरिवाना र जफतबापत १ करोड ८२ लाख संकलन भएको छ । 

संघीय सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँड अन्तर्गत ४ करोड ७ लाख १९ हजार, प्रदेश सरकारको सवारी साधन करतर्फ ७२ लाख २ हजार र आन्तरिक आय अनुमान मध्ये घर जग्गा रजिष्ट्रेशन दस्तुरतर्फ १ करोड ९९ लाख ५० हजार रुपैयाँ मात्र प्राप्त भएको सभामा जानकारी गराइएको थियो ।