परिवार नियोजनका साधन भ्रम र यथार्थ

२०७९ माघ १९ बिहीबार १२:०७:०० मा प्रकाशित

परिवार नियोजनका साधनहरु दुई किसिमको हुन्छन् । एउटा अस्थायी साधन हुन्छ भने अर्को स्थायी साधन हुन्छ । अस्थायीमा ४ प्रकारका साधनहरु छन् । जसमा पिल्स (खाने चक्कि), तीन महिने सुई (डिपो सुई), पाखुरामा लगाउने (नरप्लान्ट) र पाठेघरमा लगाउने (आइ.यु.सी.डी) हुन्छ । त्यस्तै स्थायीमा यो सँधैका लागि बन्ध्याकरण गर्ने गरिन्छ । 

यो महिलाको पाठेघरको नली बाध्ने प्रक्रियालाई स्थायी बन्ध्याकरण भन्ने गरिन्छ । यो महिलाहरुको हो भने पुरुषहरुका लागि पनि दुई किसिमकै परिवार नियोजनका साधनहरु रहेको छ । जसमा अस्थायी र स्थायी साधनहरु रहेका छन् । अस्थायी परिवार नियोजनको साधनमा कण्डम पर्छ भने स्थायीमा पुरुषहरुको पनि महिलाहरुको जस्तै नली काटेर बन्ध्याकरण गर्ने गरिन्छ । 

परिवार नियोजनको साधनहरुबारे जनमानसमा यस्ता साधनले असर गर्छन भन्ने केही भ्रम पनि रहेका छन् । तर वास्तवमा त्यस्तो हुँदैन । केही व्यक्तिलाई असर गरेपनि यथार्थमा यी प्रभावकारी छन् ।  

कण्डम

कण्डम पुरुषले प्रयोग गर्ने परिवार नियोजनको साधन हो । यो एउटा पातलो रबरको खोल हो । जसलाई लिङ्गमा लगाईन्छ । कण्डमले पुरुषको वीर्यलाइ महिलाको योनीमा झर्नबाट रोक्दछ । यस्लाई प्रत्येक पटक यौन सम्पर्क गर्दा सहि तरिकाले प्रयोग गरेमा प्रभावकारी हुन्छ । कण्डम प्रयोग गर्दा यस्ले कुनै पनि नकारात्मक असर गर्दैन । कण्डमले गर्भधारण रोक्ने र एच.आइ.भि लगायत अन्य यौनजन्य सङ्क्रमणबाट जोगाउन दोहोरो सुरक्षा दिन्छ । यसलाई अनिच्छित गर्भ रोक्न अन्य परिवार नियोजनको विधिसँग दोहोरो सुरक्षाको रुपमा पनि प्रयोग गर्न सकिन्छ । 
कण्डमलाई प्याकेटबाट निकाल्दा वा प्रयोग गर्दा नफुटोस् भनि सावधानी अपनाउनु पर्दछ । कण्डम प्याकेटबाट निकाल्नु अघि प्याकेटको हावा निस्किएको छ÷छैन हेर्नुपर्छ (प्याकेटलाई थिच्दा हावाको फोकाहरु हुनुपर्छ) । यसको प्रयोग गर्ने म्याद नाघेको छ÷छैन हेरेर मात्र प्रयोग गर्नु पर्दछ । यसले कुनै पनि नकारात्मक असर गर्दैन तर कुनै कारणले महिला पुरुषलाई एलर्जी गराउँछ । त्यसकारण गुणस्तर हेरेर मात्र यसको प्रयोग गर्नुपर्छ । 

पिल्स (खाने चक्कि)
पिल्स परिवार नियोजनको अस्थायी साधन हो । यो २१ दिन खाने चक्कि हो । महिनावारी भएको दोस्रो दिनपछि २१ दिन सम्म लगातार यो चक्कि खानुपर्छ । यो चक्किको प्रयोग गरेपछि बच्चा बस्दैन । यस्ले महिलामा अण्डा बन्ने प्रक्रियालाई रोक्छ । यसको नियमित प्रयोग गर्नुपर्ने हुन्छ । कुनै कारण बीचमा १ दिन खान बिर्सेमा सम्झने वित्तिकै खानुपर्छ । यदि दुई तीन दिननै खान छुट्यो भने यसले काम गर्दैन । त्यस्तो समयमा यसलाई रोकेर अन्य अस्थायी साधनहरुको प्रयोग गर्नुपर्ने हुन्छ । अर्को महिनावारी भएको दोस्रो दिनपछि पिल्सको अर्को प्याकेट प्रयोग गर्नुपर्छ । 
बढी मोटोपन भएका महिलाहरु र प्रेसर भएका महिलाहरुलाई पिल्सको प्रयोग नगर्न सुझाव दिने गरिएको छ । हार्मोन बढी हुनाले पिल्सले तौल बढाउन सक्छ । पिल्स प्रयोग गरेको शुरुको दिनमा केही महिलाहरुमा महिनावारी नभई थोपा–थोपा रगत देखिने वा कम रक्तश्राव हुनसक्छ । केही महिलाहरुमा हल्का टाउको दुख्ने, स्तन भारी हुने वा दुख्ने, वाकवाकी लाग्ने जस्ता लक्षण देखिने भएपनि केही महिना पछि यी असरहरु हराउँछ । केही महिलाहरुमा तौल घटबढ हुनेपनि हुन सक्छ । 

पिल्स महिलाहरुको लागि सबै भन्दा सुरक्षित साधन पनि रहेको छ । यसको प्रयोगले नकारात्मक असर गर्दैन । सँगै यसको प्रयोग गर्दा बाँझोपन हुने समस्या पनि हँुदैन । पिल्स खान छोड्ना साथ छिट्टै पुनः गर्भधारण गर्न सकिन्छ । पिल्सको प्रयोगले गर्भधारण गर्न सक्ने क्षमतामा कुनै असर नगरी यसको प्रयोग रोक्ने बित्तिकै गर्भवती हुन सकिन्छ । पिल्सले गर्भमा रहेको बच्चा वा बच्चा जन्मने बेलामा कुनै नकरात्मक असर गर्दैन । पिल्स महिलाहरुले बढी मात्रामा प्रयोग गर्ने गर्छन् । साथै अन्य साधन भन्दा पनि पिल्सको प्रयोग गर्न सुझाव दिने गरिएको छ । 

तीन महिने सुई (डिपो सुई)

यो पनि हार्मोन हो । यो सुई तीन÷तीन महिनामा लागइन्छ । महिनावारी भएको दुई देखी पाँच दिन भित्रमा लगाउन पर्छ । यसको असरहरु धेरै रहेको छ । जस्तै डिपो सुईको प्रयोग गर्दा कसै–कसैलाई महिनावारी नहुने हुन्छ । कसैलाई महिनैभरि रगत देखा पर्छ । कोही एक्दमै मोटाउछन् भने कोही एकदमै दुब्लाउँछन् । कसैलाई यसको नकारात्मक असर देखा पर्न सक्छ । कसैलाई यसको नकारात्मक असर नहुन पनि सक्छ । कसैलाइ यसको प्रयोग गर्न रोकेको केही समय पछि जस्तै ६ महिनादेखी एक वर्ष पछि महिनावारी हुने हुन्छ । 


यसमा भएको हर्मोनले महिलाको डिम्बासयबाट डिम्ब निश्कासन हुन नदिई शुक्रकिट र डिम्बको मिलन हुन पाउँदैन र गर्भाधरण हुँदैन । 

 


आई.यु.सी.डी.
आई.यु.सी.डी. एक अस्थायी साधन हो । जुन एउटा सानो लचिलो प्लाष्टीक र तामाले बनेको टि आकारको परीवार नियोजनको साधन हो । जुन महिलाको पाठेघरमा राखिन्छ । यसमा कुनैपनि औषधी वा हार्मोन राखिएको हँुदैन । हाम्रो शरीरभित्र कुनैपनि बाहिरी बस्तु राख्दा बढी सावधानी अपनाउनुपर्छ । त्यसैले यसले पनि कसै–कसैलाई इन्फेक्सन हुन सक्ने सम्भावना हुन्छ । त्यसैले आई.यु.सी.डी. को प्रयोग गरेमा बढीमात्रामा सरसफाईमा ध्यान दिनुपर्छ । आई.यू.सी.डी. लगाईसकेपछि केही समयसम्म महिलाहरुको तल्लो पेट बटारिएर दुख्न सक्छ । अनियमित रगत बग्न सक्छ । महिनावारीमा केहि घटबढ जस्ता साधारण असरहरु हुन सक्छन् तर केहि समयपछि आफै हराएर जान्छ । 

आई.यु.सी.डी.ले महिलाको डिम्ब र पुरुषको शुक्रकिटलाई मिलन हुनबाट रोक्ने र डिम्ब बाहिनी नलीसम्म पुग्ने शुक्रकिटको संख्यालाई घटाईदिने र तिनीहरुलाई निस्क्रिय बनाउने काम गर्छ । आई.यु.सी.डी.ले महिनावारीमा परिवर्तन गराउँछ । लगाएको पहिलो केही महिनामा बढी रगत बग्न सक्छ तर पछि घट्दै जान्छ ।
यसलाई तालिम प्राप्त सेवा प्रदायकद्वारा राख्ने र झिक्ने गरिन्छ । सुत्केरी हुनासाथ आई.यु.सी.डी. राख्नको लागि गर्भ जाँच गर्ने समयमा नै सेवा प्रदायकबाट परामर्श लिनुपर्छ । असुरक्षित यौन सम्पर्क हुने बित्तिकै प्रयोग गर्न सकिन्छ जसले गर्भाधान हुनबाट रोक्छ । यो १२ वर्षसम्म गर्भ रहन दिदैन तर चाहेको समयमा निकाल्न सकिन्छ र निकालेपछि गर्भधारण गर्न सकिन्छ । 
आई.यु.सी.डी निकाल्ने बित्तिकै महिला तुरुन्तै गर्भवती हुन सक्छिन् । कहिलेकाही शरीरले आई.यु.सी.डी अस्वीकार गर्न सक्छ । महिनावारीको रगतसँगै आई.यु.सी.डी. खस्न सक्छ । एकपटक आई.यू.सी.डी राखिसकेपछि पहिलो केही महिना आई.यू.सी.डी राख्ने सेवा प्रदायकलाई बेला–बेला सम्पर्क राख्नु राम्रो हुन्छ । 

इम्प्लान्ट

इम्प्लान्ट परिवार नियोजनको अस्थाई साधन हो । जसमा हर्मोन भएका साना मसिना नरम खालका रडहरु महिलाको पाखुराको भित्री भागमा छालाको ठिक मुनी राखिन्छ । यो एक पटक लगाएपछि पाँच वर्ष सम्म काम गर्छ । यो विधि पहिलो बच्चा ढिला पाउन चाहने, लामो समय जन्मान्तर गर्न चाहने र बच्चाको रहर पुगिसकेका दम्पत्तीहरुले प्रयोग गर्न सक्छन् । यदि सन्तान जन्माउन इच्छा भएमा इम्प्लान्ट निकाल्नुपर्छ । निकाल्ना साथ गर्भधारण गर्न सकिन्छ । 


इम्प्लान्ट प्रयोग गरेको केही महिना महिनावारी हँुदा रगत धेरै जान सक्छ । साथसाथै कम अथवा रगत नै नजान पनि सक्छ । केही महिलाहरुलाई टाउको दुख्ने, तौल घट्बढ् हुने स्तन भारीपन हुने र डन्डीफोर पनि आउन सक्छ । इम्प्लान्ट प्रयोग गरेको केही महिना महिनावारीमा कम रगत बग्ने, बिच बिचमा छिटफुट रगत देखिने अथवा महिनावारी नै नहुन सक्छ तर यो सामान्य असर हो जुन केहि समयपछि आफै हरायर जान्छ ।

 

स्तनपान विधि

स्तनपान विधि प्राकृतिक गर्भनिरोधको विधि हो जुन बच्चा जन्मिने बित्तिकै प्रयोग गरिन्छ । यो यस्तो स्तनपान विधि हो जुन निश्चित प्रक्रिया अपनाएर मात्र यसले काम काम गर्छ । जब महिलाले पूर्ण रुपमा स्तनपान गराउँछिन् उनको अण्डासयबाट अण्डा निस्कासन हुँदैन र गर्भवती हुनबाट बचाँउछ । पुर्णरुपमा स्तनपान गराउँदा, बच्चाको उमेर ६ महिनाभन्दा कम छ र सुत्केरीपछि महिनावारी शुरु भैसकेको छैन वा महिनावारी सुरु भएको हुनु हँुदैन । स्तनपान विधिको पृ्र्ण प्रभावकारीताको लागि महिलाले स्तनपान पटक पटक दिन रात मिलाएर र अन्य ठोस आहार र पानी पनि नदिई स्तनपान मात्र (४–६ घण्टा भन्दा बढी फरक नपर्ने गरी २४ घण्टामा कम्तीमा ८–१० पटक साथै बच्चाले मागेको बेला) गराई राख्नुपर्दछ । यदि स्तनपानमा कमि आयो भने महिनावारी शुरु हुन सक्छ । महिनावारी शुरु हुनु भनेको शरीरले गर्भ निरोध गर्न नसक्ने संकेत पनि हो । प्रजनन शक्ति पुनः फर्कनमा ढिलाइ हुन्छ ।


 

स्वेच्छिक बन्ध्याकरण

स्वेच्छिक बन्ध्याकरण परिवार नियोजनको शल्यक्रियात्मक एक स्थायी विधि हो जुन महिला वा पुरुषले गर्भनिरोधको लागि गरिन्छ । यो सन्तानको रहर पुगिसकेका महिला र पुरुषले जुनसुकै बेला गर्न सकिने परिवार नियोजनको स्थायी विधि हो । बन्ध्याकरण प्रभावकारी र सुरक्षित सामान्य शल्यक्रिया हो । यो प्रक्रिया पछि सामान्य दुखाई हुनसक्छ । दुबै महिला वा पुरुषको बन्ध्याकरण प्रक्रिया सामान्य लठ्याउने सुई दिएर (पुरा बेहोस नगरी) शल्यक्रिया गर्न सकिन्छ । महिला र पुरुष बन्ध्याकरण गर्भनिरोधको स्थाई विधि हो र दुबै महिला तथा पुरुषले स्वेच्छिकरुपमा निर्णय गर्नुपर्छ । बन्ध्याकरण गर्ने बित्तिकै महिला तथा पुरुषमा सामान्य दुखाई बाहेक काम गर्ने शक्ति वा क्षमतामा कमी आउँदैन । बन्ध्याकरणपछि पनि महिलामा नियमित रुपमा महिनावारी हुन्छ । यदि महिलाले बन्ध्याकरण अगाडि कुनै हर्माेनल साधन लिएको तथा महिलाको अनियमित महिनावारी भएतापनि बन्ध्याकरण पछि पुन नियमितरुपमा महिनावारी हुन्छ । 


(स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. रेणुका ताम्रकार मिश्रसँगको कुराकानीमा आधारित)