सिमसार निर्माण गरे जीवन रहन्छ

२०७९ माघ १९ बिहीबार १३:४४:०० मा प्रकाशित

गैँडाकोट । सिमसार क्षेत्रको पुर्नस्थापना आजको आवश्यकता रहेको सरोकारवालाहरुले बताएका छन् । विश्व सिमसार दिवसको अवसरमा गैँडाकोटको ढवाह तालमा आयोजित कार्यक्रममा उनीहरुले सिमसार मानव जीवनसँग जोडिएको बताउँदै पानीको स्रोत समेत रहेको बताएका हुन् ।

कार्यक्रममा गैँडाकोट नगर प्रमुख मदनभक्त अधिकारीले समुदायभित्र रहेका ताल तलैया संरक्षण एवं सिमसार निर्माणले जीवलाई सहज बनाउँदै जाने र यसको महत्त्व बढ्दै जाने बताउनुभयो । गैँडाकोटमा रहेका तालको जर्गेना गर्न सके यसले टेवा दिने उहाँले बताउनुभयो ।

कार्यक्रममा सव डिभिजन वन कार्यालय गैँडाकोटका प्रमुख सूर्यसिंह गुरुङले जैविक विविधता संरक्षणमा सिमसारको महत्त्व रहेको बताउँदै विकास निर्माणका कार्यक्रम अघि बढाउँदै गर्दा यस्ता क्षेत्रका संरक्षणमा ध्यान दिन आग्रह गर्नुभयो । नारायणी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दिनानाथ त्रिपाठीले सामुदायिक वनका कार्यक्रम काठ केन्द्रित नभई सिमसार र पर्यापर्यटनका क्षेत्रमा लगानी गरे यसले संस्था सञ्चालनमा समेत सहज हुने बताउनुभयो ।   

सहमतिका उपाध्यक्ष नगेन्द्र रिजालले अहिले पानी सुक्दै जाने अवस्था आएकाले सिमसारको जगेर्ना गर्न आवश्यक रहेको बताउनुभयो । गैँडाकोट नगरपालिकाका विद्यायन समितिका संयोजक ज्ञानप्रसाद खनालले सिमसार संरक्षण गरे वन संरक्षण हुने र वन संरक्षण भए मानवलाई अक्सिजन प्राप्त हुने बताउँदै संरक्षणमुखि कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । 

नन्दन सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बालकृष्ण गौडेलले प्रदेश सरकार, गैँडाकोट नगरपालिका, डब्लु डब्लु एफको आर्थिक सहयोग एवं सहमतीको प्राविधिक सहयोगमा ढवाहा ताल संरक्षणको काम भइरहेको बताउनुभयो । 

सव डिभिजन वन कार्यालय गैँडाकोटका फरेष्टर दिनेश केसी, सहमतिका सामुदायिक सहजकर्ता क्षितिजराज शर्मा लगायतको उपस्थिती रहेको सो कार्यक्रममा नन्दन वनका सदस्य माधव चालिसेले स्वागत एवं सचिव कमला शर्माले सहजिकरण गर्नुभएको थियो ।