गैँडाकोटको ६ महिना : इन्धनमा ३१ लाख ६१ हजार खर्च

२०७९ माघ १९ बिहीबार १६:१५:०० मा प्रकाशित


गैँडाकोट । गैँडाकोट नगरपालिकाको चालु आर्थिक वर्षको ६ महिनामा इन्धनमा ७० प्रतिशत बढी खर्च भएको छ । श्रावणदेखि पौष मासन्तसम्मको नगरपालिकाको आयव्यय विवरण अनुसार इन्धनमा ३१ लाख ६१ हजार ९ सय १९ रुपैँया खर्च भएको छ ।

आर्थिक वर्ष २०७९/०८० का लागि पदाधिकारीको इन्धन खर्चमा १५ लाख बजेट विनियोजन भएको थियो । कुल बजेटको ४६ दशमलब २४ प्रतिशत खर्च भएको छ । यस शिर्षकमा विनियोजित बजेट मध्ये ६ लाख ९३ हजार ६ सय ३४ रुपैँया खर्च भइसकेको छ ।

यसैगरि कार्यालय प्रयोजनका लागि इन्धनमा ३० लाख बजेट विनियोजन रहेको थियो । यस शिर्षकको कुल बजेट मध्ये ८२ दशमलब २८ प्रतिशत खर्च भइसकेको छ । कार्यालय प्रयोजनका लागि ६ महिनामा २४ लाख ६८ हजार इन्धनमा खर्च भएको हो ।

यसैगरि सवारी साधन मर्मतका लागि १२ लाख ३ हजार बढी खर्च भएको छ । यस शिर्षक अन्तर्गत ३५ लाख बजेट विनियोजन रहेको छ ।