नवलपुरमा नयाँ उद्योगहरुको दर्ताबाट ४० लाख राजश्व संकलन 

२०७९ माघ २० शुक्रबार ११:२७:०० मा प्रकाशित

गैँडाकोट । नवलपुर जिल्लामा कृषि, पर्यटनका क्षेत्रमा नयाँ उद्योगहरुको स्थापना हुने क्रम बढेको छ ।  कावासोती, देवचुली, गैँडाकोट र मध्यविन्दुमा नयाँ उद्योग तथा वाणिज्य दर्ता हुने क्रम धेरै रहेको छ । जिल्लामा चालु आर्थिक वर्षको ६ महिनामा २५७ उद्योग थपिएका छन् । 


उद्योग तथा पर्यटन कार्यालयले चालु आर्थिक वर्षमा थपिएका नयाँ उद्योग तथा वाणिज्य दर्ताबाट रु ४० लाख छ हजार राजस्व संकलन गरेको छ । जसमध्ये उद्योग दर्ताबाट रु १८ लाख ८८ हजार छ सय २५ र वाणिज्य दर्ताबाट रु २१ लाख १७ हजार चार सय ५० राजस्व संकलन भएको पर्यटन तथा उद्योग कार्यालय नवलपरासीपूर्व कार्यालय प्रमुख सागर खनालले बताउनुभयो ।


उद्योगमा कृषि तथा वन वातावरण, पर्यटन र सेवामूलक साना उद्योग धेरै छन् । नवलपुर कृषि र पर्यटनको सम्भावना भएको जिल्ला भएकाले यसतर्फ नयाँ उद्योग दर्ता हुने क्रम बढेको हो । राज्यले कृषिमा दिने अनुदान सहयोगका कारणसमेत यस्ता खालका उद्योग दर्ताको क्रम बढेको हुनसक्ने पर्यटन तथा उद्योग कार्यालय नवलपुरका प्रमुख सागर खनालले बताउनुभयो ।


वाणिज्यतर्फ भने नवलपुरमा तीन सय ६८ वटा नयाँ व्यवसाय थप भएका छन् । नवलपुरमा उद्योग तथा वाणिज्यको कुल संख्या १५ हजार दुई सय ५० पुगेको छ । RN