न्वाँगी मनाउँदै चेपाङ समुदाय ः गामबेँसीमा दस जना पान्देमार्फत पूजा गरिँदै

२०८० भदौ २२ शुक्रबार १२:०५:०० मा प्रकाशित


भरतपुर । सीमान्तकृत आदिवासी जनजाति समुदायभित्र पर्ने चेपाङ समुदायका लागि भदौ र मङ्सिर विशेष महिना हुन्, किनकि मङ्सिरमा वायु पूजा गर्छन् भने भदौमा न्वाँगी पूजा गर्छन् । दुवै पर्व पितृलाई सम्झिने पर्व हो ।

नेपाल चेपाङ संघ चितवनका अध्यक्ष भीम चेपाङका अनुसार वंशका आधारमा दुई समयमा पर्व मान्ने प्रचलन छ । ‘थरअनुसार कसैले न्वाँगी मनाउँछन्, कसैले वायु पूजा गर्छन्, उनले भने, तर जसले जे गरे पनि यी दुवैको अर्थ एउटै हो ।’

न्वाँगी मनाउनेहरुका लागि यसपालि नेपाल चेपाङ संघको केन्द्रीय समितिले धादिङमा कार्यक्रम गरेर पर्व मनाउँदै छ । केन्द्रीय समितिको योजनाअनुसार जिल्ला समितिहरु पनि यसपालि न्वाँगीका लागि धादिङ जाँदैछन् । अघिल्लो वर्ष चितवनमा मनाएको पर्वलाई चेपाङ बाहुल्यता भएका जिल्लाहरुमा मनाउँदै आएको उनले बताए । जसकारण यसपटक चितवन जिल्लामा चेपाङ संघले कुनै पनि कार्यक्रम आयोजना गरेको छैन ।

तर, आन्तरिकरुपमा पान्दे (पुरोहित) फलाक्ने र पितृ सम्झिने काम भइरहेको उनले बताए । संघले सबै जिल्लामा कार्यक्रम नगरे पनि टोल–टोलमा कार्यक्रम भइरहेका छन्, उनले भने, घर–घरमा पनि पान्देहरुले फलाकेर पितृ सम्झिने र नयाँ अन्न तथा फलफूल चढाउने काम भइरहेको छ । खासगरी, चेपाङ जातिले न्वाँगी र वायु पूजामा नयाँ अन्न र फलफूल चढाउने संस्कार छ ।

न्वाँगी र वायु पर्व चेपाङ जातिको मौलिक एवम् सांस्कृतिक पर्व हो । तर, पछिल्लो समय धर्मपरिवर्तनका कारण यो पर्व निकै प्रभावित बनेको छ । धर्मपरिवर्तन गर्नेहरुले आफ्नो पुरानो मौलिक संस्कृति कुनै पनि मनाउँदैनन्, उनले भने, त्यसैले पछिल्लो समय भएको धर्मपरिवर्तनले ठूलो प्रभाव पारेको छ ।

कतिपय पुरानो संस्कारमा विकृति र विसङति भएका कारणले पनि धर्मपरिवर्तन गर्नेहरुको संख्या बढ्दै गएको हुन सक्ने उनको भनाइ छ ।

तर हामी प्रकृतिपूजकहरुका लागि समग्र वायुमण्डल नै भगवान् हो, उनले भने, यसमा हुने क्रियाकलापमा कुनै नराम्रो विषय भए त्यसलाई परिमार्जन गर्दै लैजानुपर्छ, चेपाङको धर्म, संस्कृति र परम्परालाई बचाउनुपर्छ । चेपाङ जातिको मौलिक संस्कृति संरक्षणका लागि बागमती प्रदेशले चितवनसहित मकवानपुर र धादिङ जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

अन्य जिल्लामा भने चेपाङ जातिको बाहुल्यता भएका स्थानीय तहले आफ्नो तहमा मात्रै सार्वजनिक बिदा दिएका छन् । विशेषगरी, बागमती र गण्डकी प्रदेशमा चेपाङ जातिको बसोवास छ ।