विजयश्रीको तीज गीत प्रतियोगितामा महिला सञ्जाल गैँडाकोट १ प्रथम

२०८० भदौ ३० शनिबार १८:४४:०० मा प्रकाशित

गैँडाकोट । विजयश्री उपभोक्ता सहकारी संस्था (किसान मार्ट) को आयोजना एवं विजय एफएमको सह आयोजनामा हरितालिका तीजको अवसरमा भएको वडास्तरीय तीज गीत प्रतियोगितामा महिला सञ्जाल गैँडाकोट १ प्रथम भएको छ । 

प्रतियोगितामा शान्ति आमा समूह गैँडाकोट ११ द्वितीय, समुन्नती महिला समूह गैँडाकोट ५ तृतीय र कालिका महिला समूह गैँडाकोट ८ ले सान्तवना स्थान हासिल गरेका छन् । विजयी समूहलाई क्रमशः १० हजार, ७ हजार, ५ हजार र ३ हजार र प्रमाणपत्र एवं सहभागि सबै समूहलाई प्रति समूह १ हजारका दरले पुरस्कार प्रदान गरिएको प्रतियोगिताका संयोजक सरस्वती सुवेदी सापकोटाले जानकारी दिनुभयो । 

गँैडाकोट ४ मा रहेको मार्टको केन्द्रीय कार्यालय परिसरमा भएको प्रतियोगितामा सहभागी ८ समूहले किसान मार्टले उपभोक्तालाई पुगेको फाइदा, सुधार गर्नुपर्ने कुरा, उपभोग गर्दा ध्यान दिनुपर्ने कुरामा गीतमार्फत सचेत गराएका थिए ।  

लोक तथा दोहोरी प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष अमर विरही गुरुङ, राष्ट्रिय कलाकार दुर्गा सापकोटा र रोशन थापा निर्णायकमा हुनुहुन्थ्यो ।  

कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट नगर उप प्रमुख शान्ति कोइरालाले तीजको महत्त्वमाथी प्रकाश पार्दै उपभोक्ता सहकारीले सदस्य र दिदिबहिनीहरुप्रति देखाएको सदासयताको उच्च मूल्याङ्कन गर्नुभएको थियो । 

जिल्ला सहकारी संघका अध्यक्ष तिलकप्रसाद पराजुली, विकू साकोसका उपाध्यक्ष यमुनाथ आचार्य, किसान साकोसका सचिव सरस्वती कँडेल, वडा अध्यक्ष कोकीसरा रानामगर, विजयश्री उपभोक्ता सहकारी संस्थाका उपाध्यक्ष श्रीराम सुवेदी लगायतले तीजको शुभकामना व्यक्त गर्दै उपभोक्ता सहकारीले दिएको सहजताबारे बोल्नुभएको थियो ।   

विजयश्री उपभोक्ता सहकारी संस्थाका सञ्चालक तारा शर्माले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रममा विजय एफएमकी प्रस्तोता पवित्रा पराजुलीले सहजिकरण गर्नुभएको थियो ।