चितवनमा डेँगुको संक्रमण बढ्दै, साउन यता ३६९ जना संक्रमित

२०८० असोज ५ शुक्रबार ०६:२१:०० मा प्रकाशित

चितवनमा साउन यता ३६९ जनामा डेँगुको संक्रमण देखिएको छ । चार हजार ७३० जनाको परीक्षण गर्दा ३६९ जनामा डेँगुको संक्रमण देखिएको हो । स्वास्थ्य कार्यालय चितवनले प्रकाशित गरेको तथ्यांकअनुसार साउन १ देखि असोज ४ गतेसम्म चार हजार ७३० जनाको परीक्षण गर्दा ३६९ जना संक्रमितहरु भेटिएका छन् भने एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार बिगत २४ घण्टामा ३ जना संक्रमित भएका छन् । संक्रमितहरु मध्ये सबै भन्दा धेरै संक्रमित हुनेको संख्या भरतपुर महानगरपालिकामा रहेका छन् । स्वास्थ्य कार्यालयका अनुसार भरतपुर महानगरपालिकाका ११९ जना, खैरहनी नगरपालिकाका २५ जना, माडी नगरपालिकाका ४, रत्ननगर नगरपालिकामा ४७ जना, राप्ती नगरपालिकामा २६जना, कालिकामा ५जना र इच्छाकामनाका चार जना रहेका छन् । त्यसैगरी चितवनमा भेटिएका संक्रमितहरु मध्ये ठेगाना नखुलेका४६ जना र अन्य जिल्लाबाट आएका ९३ जना रहेका छन् ।

भरतपुर अस्पतालका बरिष्ठ फिजिसियन डा प्रमोद पौडेलका अनुसार डेँगुबाट बच्ने मुख्य उपाय लामखुट्टेबाट बच्नु हो । उनले भने, ‘डेँगुबाट बच्ने मुख्य उपाय लामखुट्टेबाट बच्नु हो । यसका लागि लामखुट्टेको वृद्धि विकासलाई रोक्नु पर्छ । घर वरीपरी सरसफाईमा ध्यान दिनुपर्छ । घरवरिपरी पानी जम्ने वस्तुहरु केही भए हटाउनुपर्छ ।’

लामखुट्टे पानीमा बस्ने भएकाले घरको वरपर वा पानी जम्ने ठाउँ जस्तैः गमला, फूलदानी, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रम, गाडीका काम नलाग्ने टायरलगायतमा पानी जम्न नदिनु, बाहिर वा लामखुट्टेले टोक्ने ठाउँमा निस्कँदा शरीर ढाकिने लुगा लगाउनुपर्ने र सुत्दा अनिवार्य झुलको प्रयोग गर्नुपर्ने डा पौडेलले सुझाव दिएका छन् । साथै लामखुट्टेलाई बाहिरबाट भित्र छिर्न नदिने, जाली ढोकाको प्रयोग गर्नुपर्ने उनको भनाइ छ । उनले डेँगुबाट संक्रमित भएमा चिकित्सकको निरन्तर सल्लाह लिएर सहयोगी प्रकारको उपचार लिन सुझाव दिए ।

नारायणी अनलाइन बाट