सालिनको पोष्टमार्टम रिर्पोट भन्छ : ‘बलात्कार भएको होइन’

२०८० फाल्गुण २० आइतबार १४:३७:०० मा प्रकाशित

काठमाडौं । चितवनको रत्ननगरस्थित छात्रावासमा मृत फेला परेकी बालिकाको पोष्टमर्टम रिपोर्ट आएको छ । रत्ननगर नगरपालिका वडा नम्बर १० स्थित शिशु निकेतन विद्यालयभित्र मृत भेटिएकी शालिन पोखरेलको बलात्कार नभएको पोस्टमार्टमबाट पुष्टि भएको छ । त्रिवि शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टममा बलात्कार वा यौनजन्य अपराधका कुनै संकेत नभेटिएको भन्दै रिर्पोटले बलात्कार नभएको देखाएको छ ।

पोख्रेलको शवको पोष्टमार्टम काठमाडौँको टिचिङ अस्पताल गरिएको थियो । प्रहरी श्रोतका अनुसार पोष्टमार्टममा उनको बलात्कार नभएको पाइएको हो । पोष्टमर्टम रिपोर्टअनुसार उनको झुण्डिएर मृत्यु भएको देखिएको स्रोतले जानकारी दिएको छ । तर के कारण उनले आत्महत्या गरेकी हुन् भन्ने अझै खुलेको छैन । 

डा. गोपाल चौधरीसहित टोलीले पोस्टमर्टम गरेको थियो । प्रहरीले घटनास्थलबाट सुसाइड नोट पनि फेला पारेको थियो । उक्त नोटमा आफूले बाँच्न नचाहेको भन्ने विवरण उल्लेख गरिएको थियो । उक्त नोट पनि परीक्षणका लागि प्रहरीले पठाएको छ ।

गत शनिबार बिहान रत्ननगर नगरपालिका–१५ माधवपुर मामाघरमा बसी एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा बस्ने १४ वर्षीया सालिन पोख्रेलको मृत्यु भएको थियो ।
बालिका होस्टलको कोठामा रहेको सिलिङको पंखामा डोरीमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

उनको मृत्युपछि मृतकका आफन्तले ज्यान सम्बन्धी कसुरमा किटानी जाहेरी दिएपछि उक्त जाहेरीपछि प्रहरीले विद्यालयका प्रधानाध्यापक ६० वर्षीय बालहरि देवकोटा, सह प्रधानाध्यापक ४० वर्षका किरणबहादुर अधिकारी र होस्टेल वार्डेन ४८ वर्षीय कमल शर्मा पौडेललाई मंगलबार पक्राउ गरेको थियो ।

चितवन जिल्ला अदालतको आदेश अनुसार अनुसन्धानको लागि उनीहरुलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

यता प्रधानमन्त्री पुष्पकमल दाहालले पनि यो घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएका थिए । घटनाबारे उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जिल्ला प्रहरी कार्यालय चितवनका एसपी भागेश्वर रिमाल र डिएसपी श्रीराम भण्डारीसँग ब्रिफ्रिङ समेत लिएका थिए । 

सालिनको मृत्युपछि अहिले सामाजिक सञ्जालमा उनको न्यायका लागि भन्दै प्रदर्शन भइरहेको छन् ।