जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद

२०८१ बैशाख ६ बिहीबार १३:५०:०० मा प्रकाशित

गोदार । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ । उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा युवतीको शव जलिरहेको फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिनुभयो ।

उहाँका अनुसार युवतीको शव नजिकै एक बालिकाको जीवितै उद्धार गरिएको थियो । “स्थानीयले खबर गरेपछि कपिलेश्वर महादेव मन्दिरदेखि अन्दाजी पाँच सय मिटर दक्षिणतर्फ पोखरीको छेउमा एक युवतीको जल्दै गरेको शव र अन्दाजी आठ महिनाको बालिकाको जीवितै उद्धार गरिएको छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार जीवितै उद्धार गरिएकी बालिकाको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुने युवती महोत्तरी मनरासिसवाका अन्दाजी २२ वर्षीया प्रियंका महतोको रहेको डिएसपी अवाले बताउनुभयो । युवतीको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ प्रहरीले जनाएको छ ।