विद्यार्थी पब्जिसँग नभई सब्जिसँग खेल्नुपर्छ

२०८१ बैशाख १० सोमबार ०६:१९:०० मा प्रकाशित

गैँडाकोट । पढ्दै कमाउँदै कार्यक्रमका परिकल्पनाकार तथा सुर्खेतमा रहेको जनज्योती माविका प्रधानाध्यापक नारायणप्रसाद सिग्देलले विद्यार्थीलाई पब्जिको साट्टा सब्जिसँग खेल्न आग्रह गर्नुभएको भएको छ । 

आइतबार विकू बचत तथा ऋण सहकारी संस्थाको सभाहलमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले विद्यार्थीलाई विद्यालयमा नै पढ्दै कमाउँदै गर्ने शिक्षा दिनु आजको आवश्यकता रहेको बताउनुभएको छ । 

कार्यक्रममा उपस्तिथ विजय परिवारका सदस्यहरुले आफ्ना अनुभव र जिज्ञासा पनि राखेका थिए । विकू बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रेमप्रसाद सापकोटा ‘राजु’ले विकूका सदस्यले सकभर तरकारी किनेर नखाने प्रतिवद्धता गरेको बताउँदै करेसाबारीका लागि प्रोत्साहान गरेको बताउनुभयो । साथै विकूले समयसमयमा विभिन्न सीपमूलक कार्यक्रम पनि गर्ने गरेको बताउनुभयो । 

विजय सामुदायिक शिक्षा सदनका अध्यक्ष खेमराज सापकोटाले विद्यालयले पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन भएपनि त्यो दीर्घकालीन बनाउन नसकिएको अनुभव सुनाउनुभयो । विजय सामुदायिक शिक्षा सदनका प्रधानाध्यापक रेखा श्रेष्ठले विद्यालय भित्र पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत विभिन्न कार्यक्रम गरेको र त्यसबाट विद्यार्थीले आम्दानी पनि गर्ने गरेको बताउनुभयो ।