गैँडाकोट ३ मा आगलागीबाट घरगोठ जल्यो 

२०८१ बैशाख १६ आइतबार ०६:११:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नम्बर ३ ढोडेनी वडा कार्यालय नजिक गएराती एक घरमा आगलागी भएको छ । 

आगलागीबाट स्थानीय तुलबहादुर डिस्वाको घर र गोठ जलेर नष्ट भएको हो । गएराती करिब सवा २ बजेको समयमा आगो लागेको थियो । उक्त आगो, स्थानीय, प्रहरी, जेसिबी र भरतपुर महानगरपालिकाबाट आएका दुई वटा दमकलको सहायतमा बिहान करिब साढे ५ बजेतिर मात्रै नियन्त्रणमा लिइएको थियो ।

समयमा नै दमकल आएको र स्थानीय सबैको सहयोगले आगो नियन्त्रणमा लिइएकोले अन्य थप क्षति हुन नपाएको गैँडाकोट ३ का वडा अध्यक्ष शिवकान्त तिवारीले जानकारी दिनुभयो । सँगै जोडिएर रहेका अन्य घरहरुबाट स्थानीयले सामान घर बाहिर निकालेका थिए । कालिगण्डकी करिडोर निर्माण भएसँगै सडक सहजताले पनि समयमा नै दमकल पुगेको थियो । 

आगो कसरी लाग्यो भन्ने एकिन हुन सकेको छैन । आगलागीबाट सुनारीको काठको दुई तले कच्ची घर तथा घरमा रहेका सम्पूर्ण सामग्री, केही नगद, गोठमा रहेका कुखुरा, हाँस, र खरायो समेत जलेको प्रारम्भिक विवरण आएको छ । घरमा रहेका बाख्राको अवस्थाबारे जानकारी आइसकेको छैन ।

क्षतिको विवरण संकलन भइरहेको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।