वडाबासीले भने, क्षयरोगमुक्त वडा बनाउन जुट्छौँ 

२०८१ बैशाख १७ सोमबार १५:१९:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नम्बर ४ का नागरिक समाजका प्रतिनिधिले वडालाई क्षयरोगमुक्त बनाउन जुट्ने बताएका छन् । क्षयरोगमुक्त नगरपालिका घोषणाका लागि गैँडाकोट वडा नम्बर ४ मा भएको वडा स्तरीय सुक्ष्म योजना तर्जुमा कार्यक्रमका सहभागीले सक्दो सहयोग गर्ने बताएका थिए । उनीहरुले क्षयरोग अन्त्यका लागि लैङ्गिक असमानता, लाञ्छना भेदभाव र अन्य सामाजिक, सांस्कृतिक, भौगोलिक अवरोध हटाउँदै गुणात्मक सेवामा जोड दिनुपर्ने बताएका थिए । 

वडा नम्बर ४ पालिकाकै बढी प्रभावित वडा पनि हो । नगरमा हालसम्म पत्ता लागेका ९२ जना मध्ये यस वडामा अधिक रहेको गैँडाकोट स्वास्थ्य शाखाका अधिकृत प्रकाश पोख्रेलले बताउनुभयो ।   

कार्यक्रममा गैँडाकोट नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष तेजप्रसाद घिमिरेले यस अभियानलाई सार्थक तुल्याउन सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो । समाजसेवी टोलनाथ घिमिरेले वडा तथा नगरपालिकालाई क्षयरोगमुक्त बनाई राष्ट्रिय अभियानलाई सफल बनाउनुपर्ने बताउनुभयो । 

क्षयरोग मुक्त अभियान गैँडाकोटका संयोजक नारायण सापकोटाले वडा अध्यक्षको संयोजकत्वमा क्षयरोग मुक्त वडा समिति गठन गरि स्थानीयका तर्फबाट खोज पड्ताल कार्यक्रम सञ्चालन गर्न स्वयम्सेवक चयन गरिएको बताउनुभयो । 

कार्यक्रममा कार्यपालिका सदस्य शान्ता घर्ती, वडा सदस्य धनमाया परियार, आधारभूत स्वास्थ्य केन्द्र प्रमुख टुकराम सुवेदी, टोल विकास संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो । 

यो सँगै ६ वटा वडामा वडा स्तरीय सुक्ष्म योजना तयार गरिसकेको छ । यसअघि गैँडाकोट स्वास्थ्य शाखाले समुदायमा सचेतना कार्यक्रम, अभिमुखिकरण लगायतका कार्यक्रम गरिसकेको छ । गैँडाकोटमा गत आर्थिक वर्ष १२९ जनामा क्षयरोग देखिएको थियो । चालु आर्थिक वर्षमा ९२ जनामा पुष्टि भइसकेको पाइएको र अन्यको खोज पड्ताल जारी रहेको स्वास्थ्य शाखाले जनाएको छ । 

विश्वमै क्षयरोग जनस्वास्थ्य र दिगो विकासका लागि प्रमुख चुनौती रहँदै आएको छ । यो सरुवा रोग उच्च मृत्युदर भएका १० वटा रोगमध्ये एकको रूपमा रहँदै आएको छ । गरिबी, अशिक्षा, चेतनाको कमी, आन्तरिक बसाइँसराइ र खुला सिमाना आदि कारणले क्षयरोगबाट सङ्क्रमित हुने दर बढ्दो छ । अध्ययनहरू अनुसार मूलतः गरिब र सीमान्तकृत समूहमा क्षयरोगको जोखिम बढी पाइएको छ ।