बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित

२०८१ बैशाख १७ सोमबार १७:५२:०० मा प्रकाशित


काठमाण्डौ – बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा भएको उपचुनावमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी निर्वाचित हुनुभएको छ ।

एमालेका उम्मेदवार भण्डारी ११ हजार ६ सय १३ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ । भण्डारी २ सय ६७ मतान्तरसहित विजयी हुनुभयो ।

भण्डारीका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ११ हजार ३ सय ४६ मत प्राप्त गर्नुभयो । यस्तै नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जनकबहादुर बुढाले ३ हजार ८ सय ३१ र नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले २ हजार ५ सय १४ मत प्राप्त गर्नुभएको आयोगले जनाएको छ ।

अस्ति शनिवार भएको उपचुनावमा ३० हजार तीन सय ३७ मत खसेको थियो । यहाँ ६१ हजार ७ सय ४८ जना मतदाता थिए । खसेको मतमध्ये ६ सय ३२ मत बदर भएको निर्वाचन आयोगले जनाएको छ ।

२०७९ मा भएको चुनावमा यस क्षेत्रमा कांग्रेसका पृथ्वीबहादुर सिंहले १७ हजार १ सय १२ मत ल्याएर निर्वाचित हुनुभएको थियो । एमालेका अफिलाल ओखेडाले १३ हजार ३ सय ३६ मत ल्याउनुभएको थियो । कांग्रेसका पृथ्वीबहादुर सिंहको गाडी दुर्घटनामा निधन भएपछि अहिले उपचुनाव भएको हो ।