आज अन्तर्राष्ट्रिय मजदुर दिवस, नेपालमा पनि विविध कार्यक्रम गरि मनाइँदै

२०८१ बैशाख १९ बुधबार ०६:०४:०० मा प्रकाशित

काठमाडौं । आज अन्तर्राष्ट्रिय मजदुर दिवस नेपालमा पनि विविध कार्यक्रम गरि मनाइँदै छ । विभिन्न राजनीतिक दल आवद्ध मजदुर संगठनहरुले विगतदेखि नै हर्षोल्लासका साथ मजदुर दिवस मनाउने गरेका छन् ।

सन् १८८६ मे १ मा अमेरिकाको शिकागोमा आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग गर्दै मजदुरहरुले गरेको आन्दोलन सफल भएको स्मरणमा विश्वभर मजदुर दिवस मनाइन्छ ।

१७ औं शताब्दीमा भएको संघर्षले मजदुरहरुले यो अधिकार प्राप्त गरेका थिए । सन् १८८९ मा फ्रान्सको राजधानी पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवम् श्रमिक नेताहरुको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । त्यसपछि सन् १८९० देखि हरेक वर्ष मे १ मा संसारभर मजदुर दिवस मनाउने गरिन्छ ।

नेपालमा विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको थियो । तर २०६४ सालदेखि अन्तर्राष्ट्रिय मजदुर दिवसको दिन सरकारले आधिकारिकरुपमा सार्वजनिक विदा दिन थालेको थियो । राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतले मजदुर दिवसको अवसरमा शुभकामना सन्देश दिएका छन् ।