मौरीपालनमा सम्भावना छ, सरकारले सहयोग गरोस् ः किसान 

२०८१ बैशाख २२ शनिबार ०५:४०:०० मा प्रकाशित


गैँडाकोट । किसानहरूले मौरीपालनमा राम्रो सम्भावना रहेको बताएका छन् ।

तर यसलाई प्रोत्साहान गर्न स्थानीय सरकारले सहयोग गर्नुपर्ने उनीहरुको भनाई छ । गैँडाकोटमा १७ गतेदेखि सञ्चालनमा रहेको आधारभूत मौरी पालन तालिममा सहभागि किसानले यस क्षेत्रको स्थानीय सरकारले लगानी बढाउनुपर्ने बताएका हुन । 

तालिममा सहभागी प्रदिप सापकोटा घरायसी प्रयोजनका लागि मात्र मौरी पालन गर्नु हुन्छ । ५ दिनको तालिममा बसेपछि सापकोटालाई यस क्षेत्रमा व्यवसायिक रुपमा अगाडी बढ्न प्रेरणा मिलेको रहेछ । साथै तोरीमा विषादीको प्रयोग बढी भएका कारण पनि मौरी पालन किसानलाई समस्या भएको कारण जनचेतना फैलाउन आवश्यक रहेको उहाँको बुझाई छ । 

अर्का सहभागी तारा पौडेलले पनि तालिमले मौरी पालनमा लाग्न प्रेरणा थपेको अनुभव सुनाउनुभयो । 

गैँडाकोटका चन्द्रबहादुर केसीले मौरी पालन गर्दा किसानको समस्या कुनै पनि सरकारले नसुनेको गुनासो गर्दै गैँडाकोट नगरपालिकालाई किसानको समस्या सुन्न र समाधानमा सहयोग गर्न अनुरोध गर्नुभयो ।

सागर मौरीपालन उद्योगका प्रवन्ध निर्देशक करुणा सागर सुवेदीले मौरी पालनमा देखा परेको समस्या कम गर्न सामाजिक संघसंस्थाहरुसँग मिलेर वृक्षरोपण गर्न आवश्यक रहेको बताउनुभयो । साथै उहाँले गैँडाकोट नगरपालिकाले नगरपालिकाको जम्मा बजेटको ०.५८ प्रतिशत बजेट मात्र कृषिमा छुट्याउन  दुःखद् रहेको बताउँदै यसलाई आगामी बर्ष बढाउन पनि अनुरोध गर्नुभएको छ । 

गैँडाकोट नगरपालिकाका नगर उपप्रमुख शान्ति कोइरालाले कृषि क्षेत्रमा कम रकम परेकोमा आफू जानकार रहेको र यसमा नगरपालिका पनि सन्तुष्ट नरहेको बताउँदै आगामी बर्ष यसलाई प्राथमिकता दिने बताउनुभयो । साथै उहाँले मौरी पालन किसानको क्षेत्रमा पनि नयाँ नयाँ कार्यक्रम सञ्चालन गर्ने बताउनुभएको छ । 

गैँडाकोट नगरपालिकाको कृषि शाखा प्रमुख राजु शर्माले कृषिको क्षेत्रमा कम बजेट रहेको र त्यसलाई धेरै ठाउँमा बाड्न परेका कारण समस्या भएको बताउनुभयो । आगामी दिनमा किसानको माग सम्बोधन गर्ने उहाँको भनाई छ । 

गैँडाकोट नगरपालिकाको आयोजना तथा सागर मौरी पालन उद्योग गैँडाकोटको सह आयोजनामा भएको तालिम आज समापन भएको छ । सहमति संस्थाको सभाहलमा ५ दिनसम्म सञ्चालन भएको तालिममा २० जना बढी किसानहरुको सहभागिता रहेको थियो ।