सुम्निमा ग्रमिण सहकारीको मोबाइल बैंङ्किङ सेवा शुभारम्भ 

२०८१ बैशाख २२ शनिबार १९:१८:०० मा प्रकाशित

गैँडाकोट । सुम्निमा ग्रामिण बचत तथा ऋण सहकारी संस्थाले शनिबार मोबाइल बैंङ्किङ सेवा शुभारम्भ गरेको छ । संस्थाका अध्यक्ष हरिराम सापकोटाले सदस्यहरुको सहजता र प्रविधिमैत्री वित्तिय सेवा प्रदान गर्न डिजिटल कारोबारको सेवा प्रारम्भ गरेको बताउनुभयो । 

सहकारीहरुका लागि चुनौतीको समयमा सदस्यमैत्री सहकारी निर्माणको अभियानमा अघि बढेको अध्यक्ष सापकोटाले बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले सामाजिक रुपान्तरणको अभियानमा सुम्निमा सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो । 

समुदायसँग जोडिएको सहकारीले डिजिटल कारोबारतर्फ अघि बढ्नु खुसीको कुरा हो । सुम्निमा सहकारीका पूर्व अध्यक्ष प्रकाशचन्द्र पौडेलले सहकारीमा सुशासन कायम गर्न प्रविधिले सहजता प्रदान गर्ने बताउनुभयो । संस्थाका पूर्व सल्लाहकार प्रेमनारायण भण्डारीले सदस्यले प्रविधियुक्त सेवा पाउँदा सदस्यको समयको बचत हुने बताउनुभयो ।

संस्थाका उपाध्यक्ष गणेश उपाध्यायले अतिथिलाई स्वागत गर्दै प्रविधिमैत्री सेवाले सुम्निमाको साख बृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो । 

३ हजा ४ सय ४७ जना शेयर सदस्य रहेको यस सहकारीमा १८ करोड ६८ लाख कुल सम्पत्ति रहेको छ । चैत्र मसान्तसम्मको विवरण अनुसार २ करोड ३० लाख ४३ हजार १ सय शेयर पुँजी रहेको छ । 

मोबाइल बैङ्किङ शुभारम्भ कार्यक्रमको सञ्चालन संस्थाका सचिव गिरिराज लम्सालले गर्नुभएको थियो । सचिव लम्सालले संस्थागत गतिविधिका बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष छविलाल कंडेल, गोविन्दप्रसाद पौडेल लगायतको उपस्थिति रहेको थियो ।