सबै प्रकारका पेशा–व्यवसायको संरक्षण राज्यले गर्नुपर्नेमा मदिरा व्यवसायीको जोड

२०८१ बैशाख २४ सोमबार १८:२०:०० मा प्रकाशित

गैँडाकोट । पूर्वी गैँडाकोटका मदिरा व्यवसायीले कानुनको अधिनमा रहेर गरिने सबै प्रकारका पेशा–व्यवसायको संरक्षण राज्यले गर्नुपर्ने बताएका छन् ।

सोमबार गैँडाकोट २ कालिगण्डकी चोक स्थित द नारायणी होटलमा भएको शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरुले सरकारले पछिल्लो समय पूर्वाग्रही मानसिकताले व्यबहार गर्न खोजेको आरोप लगाए । उनीहरुले सबैभन्दा धेरै कर तिर्ने मदिरा उद्योगी व्यवसायी भएपनि राज्य, प्रहरी प्रशासनले हेर्ने दृष्टिकोण तुच्छ रहेको महशुस गरेको बताएका थिए । 

मदिरा व्यवसायी संघ नवलपुरका जिल्ला उपाध्यक्ष मुक्तिनाथ अधिकारीले बेचबिखन दर रेटमा एकरुपता कायम गर्नुपर्ने, अंकित मूल्यभन्दा कम मूल्यमा बिक्रि नगर्न आग्रह गरेका छन् ।  

पुराना एवं अग्रज व्यवसायी जीवन रेग्मीको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल डिष्ट्रिलरी प्रालिका सेल्स अधिकृत आशिष लम्साल, नवलपुर वितरक संघका जिल्ला उपाध्यक्ष महेश सिग्देल, यति ब्रुअरिका सेल्स अफिसर अमृत पौडेल, जेजीआईका सेल्स अधिकृत नरेन्द्र खत्री, नेपाल बजार बिक्रि प्रतिनिधि संघका नारायणी एकाई अध्यक्ष गणेश अर्याल, चितवन मदिरा संघका उपाध्यक्ष दिपक सापकोटा, व्यवसायीहरु सन्तोष भट्टराई, कमलनारायण न्यौपाने लगायतले सुझाव एवं शुभकामना व्यक्त गरेका थिए । 

व्यवसायीहरुले घरेलु मदिराले विभिन्न बिकृती निम्याएको भन्दै घरेलु मदिरा पूर्णरुपमा प्रतिबन्ध लगाउन माग गरेका थिए । उनीहरु पेशागत हकहितका लागि एकजुट हुने समेत बताएका छन् । मदिरा उत्पादन, बिक्रीवितरण र सेवनलाई मर्यादित बनाउन आफुहरु पनि सकारात्मक रहेको व्यवसायीहरुले बताएका छन् । व्यवसायीहरुले बजारमा देखिएको समस्याबारे छलफल गर्दै स्वस्थ प्रतिस्पर्धा कायम राखी बिक्रि गर्न सुझाव दिएका थिए । 

विशाल अधिकारीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजीकरण राजन खरेलले गरेका थिए । थुम्सीबाट पूर्व गैँडाकोटमा तीन दर्जन बढी मदिरा व्यवसायी रहेका छन् ।