वन्यजन्तु संरक्षणका लागि अभिमुखिकरण, वन गस्ति गर्दा चाहिने आवश्यक सामग्रीहरु प्रदान

२०८१ बैशाख २५ मंगलबार १५:२४:०० मा प्रकाशित

गैँडाकोट । वन्यजन्तु संरक्षणका लागि संरक्षणकर्मीहरुलाई अभिमुखिकरण गरिएको छ । वन्यजन्तु अपराध नियन्त्रण र जैविक विविधताको परिचालनका लागि सामुदायिक वन उपभोक्ता समूह र समुदायमा आधारित चोरी शिकारी प्रतिरोध एकाई सदस्यहरुका लागि अभिमुखिकरण गरिएको हो । उनीहरुलाई वन गस्ति गर्दा चाहिने आवश्यक सामग्रीहरु रेनकोट, रेनबुट, टर्च लाइट, टोपी समेत हस्तान्तरण गरिएको थियो ।

युएसएड जल जंगल कार्यक्रम अन्तर्गत प्राकृतिक स्रोत संरक्षण तथा अनुसन्धान केन्द्र पोखराको आयोजनामा सहमति संस्थाको सभाहल गैँडाकोटमा भएको कार्यक्रममा गैँडाकोट क्षेत्रका ३० जनाको सहभागिता रहेको थियो । 

सब डिभिजन वन कार्यालयका प्रमुख, वन अधिकृत सूर्यसिंह गुरुङले वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका २०८० सँगै १६ वटा प्रजातीका वन्यजन्तुबाट भएको क्षतिको राहत वितरणका क्षेत्र र वन डढेलोको अवस्था, रोकथाम तथा नियन्त्रण सम्बन्धी जानकारी गराउनुभएको थियो । वन्यजन्तुको संरक्षण, ऐनबारे जानकारी, चोरी शिकारी गर्दा हुने सजाय, वन्यजन्तुले गरेको क्षतिपुर्तिबारे जानकारी गराउनुभएको थियो । 

वन अधिकृत कमल लम्सालले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ मा भएका प्रमुख प्रावधानहरुबारे जानकारी गराउनुभएको थियो । उहाँले २६ वटा स्तनधारी, ९ वटा चरा र ३ वटा घस्रने जीव संरक्षित वन्यजन्तु रहेको बताउनुभयो । 

प्राकृतिक स्रोत संरक्षण तथा अनुसन्धान केन्द्र पोखराका कार्यक्रम संयोजक सृजना अधिकारीले गण्डकी प्रदेशका ४ जिल्ला नवलपुर, तनहुँ, म्याग्दी र मुस्ताङमा २२ वटा इभेन्टहरु सञ्चालन गरिने बताउनुभयो । उहाँले वन्यजन्तु अपराध नियन्त्रण गर्नुका साथै जैविक विविधताको संरक्षण गर्ने मुख्य उद्देश्य रहेको बताउनुभयो ।

यसअघि कावासोतीमा पहिलो चरणमा सरकारी अधिकृतहरु वन रक्षक र दोस्रो चरणमा वन संरक्षणकर्मीहरुलाई अभिमुखिकरण गरिएको कार्यक्रम अधिकृत मिलन बरालले जानकारी दिनुभयो । उक्त कार्यक्रममा डिभिजन वन कार्यालयका प्रमुख वसन्तकेशव अधिकारी, वन अधिकृतहरु कमल लम्साल, शिशिर लम्साल लगायतले अभिमुखिकरण गर्नुभएको थियो ।