‘पाइला पाइलामा पाइला टेकेर’ कृतिमाथि सिंहावलोकन गर्दा

२०८१ बैशाख २५ मंगलबार १६:५१:०० मा प्रकाशित
रञ्जना लामिछाने 

पृष्ठभूमि :

पछिल्लो समय सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै मानिसहरुमा पठन संस्कृतिमा ह्रास आएको भन्दै विजय एफएम र विजय खबर पत्रिकाको सञ्चालक संस्था विजय सामुदायिक  सूचना तथा सञ्चार सहकारी संस्थाको आयोजनामा गैँडाकोटबाट पठन संस्कृति अभियानको शुभारम्भ भएको छ । 

वैशाख १५ गते सम्पन्न भएको पहिलो शृङ्खलामा २० जना पाठकका लागि २० ओटा फरक–फरक पुस्तक हस्तान्तरण गरिएको छ र दोस्रो शृङ्खलामा आउँदा ती पुस्तक पढेर आफुले लिएको ज्ञान सबैलाई बाँड्नुपर्ने छ । यसै सन्दर्भमा मेरो पोल्टामा पनि कवि सरस्वती  तिमिल्सिनाको ‘पाइला पाइलामा पाइला टेकेर’ नामक कवितासङ्ग्रह हात परेको छ ।
जब मैले यस कवितासङ्ग्रहमा सङ्गृहीत कविताहरुको रसास्वादन गरेँ तब कृतिका बारेमा केही नलेखी बस्न यो मन मान्दै मानेन । 

विषय प्रवेश :

‘पाइला पाइलामा पाइला टेकेर’ कवितासङ्ग्रह कवि सरस्वती तिमिल्सिनाको पहिलो कविता कृति हो । यस  कृतिमा जम्मा ५९ ओटा कविताहरु सङ्गृहीत छन् जसमध्ये पछिल्ला पाँच ओटा कवितालाई छुट्टै परिच्छेद बनाई कविता शृङ्खला भनेर प्रस्तुत गरिएको छ । कवि तिमिल्सिनालाई म व्यक्तिगत रुपमा त चिन्दिन तर कविताभित्र उनी एक सहनशील, सङ्घर्षशील, स्वतन्त्रताप्रेमी, विद्रोही र नारीवादी व्यक्तित्वका रुपमा छताछुल्ल भएर पोखिएकी छिन् । यस कवितासङ्ग्रहमा धेरै विषयवस्तु समेटिएका कविताहरु छन् । विषयवस्तु र भावगत विविधतामा जीवन र जगतप्रतिको दृष्टिकोणलाई आफ्नै पीडा, व्यथा र भोगाइलाई आधार मान्दै निकै कलात्मक रुपमा शब्दचित्रमा पस्किन उनी सफल भएकी छिन् । कवितामा कविले आफ्नै जीवनमा मडारिएको कालो बादल, सङ्घर्र्षको गाथासँगै नैसर्गिक प्रेमको अमरता, विश्वबन्धुत्व एवं मानवताको आग्रह, सामाजिक कुसंस्कार शोषण दमनको विरोध, नारीलाई हेय ठान्ने पौरुषेय प्रवृत्तिप्रति विद्रोह, समानता, न्याय, शान्ति, समृद्धि, मैत्री, सद्भाव, मेलमिलाप, मुलुकको सर्वाङ्गीण विकास, राष्ट्रिय स्वाभिमान, आस्था, विश्वास, हार्दिकता, करूणा, आशा, साहस, त्यागलाई मर्मस्पर्शी रुपमा प्रस्तुत गरेकी छन् । शृङ्गार, करुण, रौद्र, शान्त जस्ता रसहरुको प्रयोगले कविता आस्वाद्य बनेका छन् । बिम्ब, प्रतीक एवम् सरल, सहज, सरस र सम्प्रेष्य भाषाशैलीको प्रयोगले कविताको उचाइलाई बढाएका छन् । 

समीक्षात्मक दृष्टि :

कवितासङ्ग्रहभित्र रहेका धेरैजसो कवितामा कविले पतिवियोगसँगै आपूmले भोग्नुपरेका जीवनका कहालीलाग्दा क्षणहरुलाई अभाव र सङ्घर्षसँग जोडेर प्रस्तुत गरेकी छिन् । पति वियोगसँगै काखमा रहेको दुधे बालक हुर्काउँदाको त्यो अभावलाई उनी यसरी सम्झिन्छिन् ः

लिटो र माटोको स्वादमा 
फरक पाउँदैन उसले
उसलाई आज पनि थाहा छ
माटोको स्वाद
किनकी
भोक लाग्दा उसले लिटो भन्दा ज्यादा
माटो खाएको छ । ( पृ.२०) 

सङ्घर्षले नै हो जीवनमा सफलता, सन्तुष्टि र खुसी प्रदान गर्ने, दुःखमा नआत्तिने हो र परिस्थितिलाई स्वीकार गर्दै सङ्घर्षका पाइलाहरु चाल्ने हो भने त्यो अँध्यारोलाई चिर्दै सूर्य उदाउने छ र उज्यालो छर्ने छ । हो आज त्यही उज्यालो र हसिलो अनुहार लिएर आफ्नै छोराले भरेको उडानमा यात्रु बनेर कवि आकाशबाट विचरण गरिरहेकी छन् यसरी विगत र वर्तमानलाईः

आज पनि
त्यो रक्तपिण्ड मैसँग छ ।
फरक यत्ती हो 
आज 
छोरा ककपिटकमा बसेर जहाज उडाउँदै छ
म यात्रु भएर उडिरहेकी छु । ( पृ.२१) 

कवि कुनै पनि किसिमको बन्धन मन पराउदिनन् । उनी स्वतन्त्रता चाहन्छिन् र स्वतन्त्रता  प्राप्तिका लागि विद्रोह गर्न समेत तयार छिन् । अब पनि कठपुतली बनेर बसियो भने हाम्रो अस्तित्व सङ्कटमा पर्ने चेतावनी दिँदै कवि स्वतन्त्रता लागि यसरी विद्रोह गर्छिन् ः

म आगो पिएर आगै
ओकल्ने सामथ्र्य राख्छु
तिमीले चाहेको जस्तो
कठपुतली बन्न सक्दिनँ( पृ.५६) 

अस्तित्वका पखेटाहरु
काटिएका हुन सक्छन् 
पहिचानको पछ्यौरा
च्यातिएको हुनसक्ला
बाध्यताको बन्धन 
चुँडाल्न सक्ने हिम्मत छ मसँग (पृ.५७) 

एकल महिलालाई घर, परिवार र समाजले गर्ने बहिष्कार र तिरस्कारलाई पनि कविले आफ्नै भोगाइलाई साक्षी राख्दै सकारात्मक व्यङ्ग्य प्रहार गरेकी छन् ः

मलाई घरबाट निकालेका
हैन रहेछन् मेरा आफ्नाहरुले
मेरो जिन्दगी  स्वतन्त्र  बाँच्न 
छोडिदिएका रहेछन् ।(पृ.९१) 

नेपाली समाजमा आदिम कालदेखि नै पितृसत्ता हाबी थियो र महिलाहरू सधैँ पुरुषकै कठपुतली  बन्नुपर्ने अवस्था थियो । नारीहरु समाजमा पुरुषहरुबाटै प्रताडित  छन् । पुरुषहरुले महिलालाई भोग्य साधनकै रुपमा लिन्छन् । सुन्दरता हेर्नका लागि हो छुनका लागि होइन भन्ने कुराको ज्ञान सायद पुरुषहरुमा छैन । त्यसैले त आफ्नो कामुकतालाई काबुमा राख्न नसकेर महिलाहरुलाई खेलौना बनाएको तितो यथार्थ हामीमाझ छ । समाजको संरचना नै विभेदकारी छ । महिला र पुरुष समान हुन् भन्ने भाव समाजमा छँदैछैन । पुरुषका लागि जति उदार छ यो समाज नारीका लागि त्यति नै सङ्कीर्ण । रामायणका प्रसङ्ग उल्लेख गर्दै कविले तत्कालीन समयमा पनि लैङ्गिक हिंसा एवम् लैङ्गिक विभेद रहेको र अहिलेको समाजमा झन्  डरलाग्दा स्वरुपमा आएको कुरालाई यसरी प्रस्तुत गर्छिन् ः

म सीता बनेर
अग्निपरीक्षा दिइरहन सक्दिनँ
म हिजो द्रौपदीको नाममा लुटिएँ
सीताको नाममा घर निकाला भएँ
आज पनि उहीँ छ घटनाक्रम 
केबल पात्र फरक छ
मात्र बहाना फरक छ ।( पृ.१०८, १०९)

त्यसैगरी लोग्नेमान्छे, पुरुष, म चुनौती गर्छु, अर्को अग्निपरीक्षा, भु्रणको सनाखत शीर्षकका कविताहरुमा लैङ्गिक विभेद, नारी विद्रोह, नारीसत्ता, स्वतन्त्रता र समानताको आवाज बुलन्द रुपमा प्रस्तुत भएको छ । 

यसरी कवितामा कविले समाजका विविध पक्षलाई सौन्दर्यात्मक तरिकाले प्रस्तुत गरेकी छन् । कल्पना र भावनालाई भन्दा पनि वस्तु सत्यलाई साक्षी राख्दै आफ्नै भोगाइलाई स्वच्छन्द  रुपमा प्रस्तुत गर्न उनी सफल भएकी छन् । यति हुँदाहुँदै पनि पुस्तकाकारका रुपमा पाठकसामु कृति ल्याउँदै गर्दा केही पक्षहरुमा भने नजर पुग्न नसकेको  अनुभूति  हुन्छ ।
कवितासङ्ग्रहभित्र कविताक्रम राखिएको छैन । कविताक्रम नराख्दै गर्दा पाठकहरुमा अन्योलता हुन सक्छ । यस कवितासङ्ग्रहभित्र कति ओटा कविता छन् ? के कस्ता शीर्षकका कविता छन् ? फलानो शीर्षकको कविता कति पृष्ठमा छ ? भन्नेजस्ता सूचनाहरु कविताक्रमले दिने हुँदा कविताक्रम राख्नु उपयुक्त हुन जान्छ । जसले गर्दा पाठकवर्गलाई पनि सहजता हुन्छ । 

पाइला पाइलामा पाइला टेकेर भनेर कृतिको नामाकरण गरिएको छ तर कृतिभित्र कतै पनि शीर्ष  कविता नहुनुले केही खल्लोपना भने अवश्य गराएको छ । साथै शीर्षक सार्थकतामा पनि यसको प्रभाव प्रत्यक्ष देख्न सकिन्छ । 

अर्कोतर्फ भाषिक सम्पादनका पक्षमा पनि धेरै त्रुटिहरु कवितासङ्ग्रहभित्र भेट्न सकिन्छ । जसले गर्दा भावबोधमा असर पुगेको छ । कृतिको प्राण नै भाषा भएकाले भाषाको शुद्ध प्रयोगमा ध्यान नजानुले कतै कृतिको सौन्दर्य पक्षलाई फितलो पो बनाएको हो कि ? भन्ने पनि भान हुन्छ । केही भाषागत त्रुटिका उदाहरणहरुलाई तलका कवितांशबाट पनि हेर्न सक्छौँ–

रुखको पाल हल्लाउने हावा
सुस्तरी बहँदा 
संगीतको झंकारजस्तो लाग्छ( पृ. ५१)

माथिको उदाहरणमा रुखको पाल नभएर पात शब्द आएको खण्डमा मात्रै उक्त पङ्क्तिको भावबोध हुनसक्छ ।

हावाको घर्म बहनु हो
हावाले नै बचाउँछ 
हावाले नै मार्छ ( पृ. ५१)

माथिको कवितांशमा हावाको घर्म नभएर धर्म  भन्ने शब्द प्रयोग हुँदा मात्रै  त्यसले दिने अर्थबोध हुन सक्छ । यी केही उदाहरण  मात्रै हुन् । भाषिक सम्पादनका पक्षमा कविको ध्यान गएको देखिदैन ।

उपसंहारः

समग्रमा कृति उत्कृष्ट  बन्न पुगेको छ । सरलता नै यस कृतिको मुख्य विशेषताका रुपमा आएको छ । जो कोही पाठकले पनि सहज रुपमा भावबोध गर्न सक्ने यस  कृतिमा संविधानको आँखाले देख्न नसकेको, कानुनले नबोलेको, राज्यसंयन्त्रले खोज्न नसकेको समाजको कुरीति, कुण्ठा, अन्याय, हिंसा, शोषण र दमनजस्ता विषयलाई खरो रुपमा प्रस्तुत गरिएको छ । अझ त्यसमा पनि पितृ सत्ताको विरोध र नारीसत्ता एवम समसत्ताको दरिलो वकालत प्रबल रुपमा आएको छ । पहिलो कृतिका लागि कविलाई धेरै धेरै बधाई एवम्  शुभकामना ! आगामी  दिनमा पनि नेपाली भाषा , साहित्यका  क्षेत्रमा  कविको कलम निरन्तर अगाडि  बढोस् ! सफलताको शुभकामना !
(लेखक बालकुमारी कलेज नारायणगढका सहायक प्राध्यापक हुन् ।)