विश्व रेडक्रस दिवसको अवसरमा गैँडाकोटमा शिक्षक नायकहरूको गोष्ठी 

२०८१ बैशाख २६ बुधबार १७:२४:०० मा प्रकाशित


गैँडाकोट । नेपाल रेडक्रस सोसाइटी गैंडाकोट आदर्श उपशाखाले बुधबार शिक्षक नायकहरूको गोष्ठी सम्पन्न गरेको छ ।

१९६औं विश्व रेडक्रस दिवशको अवसर पारेर विद्यालयमा रेडक्रस गतिविधि अगाडि बढाउने उद्देश्यका साथ कार्यक्रम गरिएको जानकारी उपशाखा सभापति उमाकान्त सापकोटाले दिनुभयो ।

गैडाकोट वडा नं १ देखि ९ सम्ममा रहेका १८ विद्यालयका शिक्षक नायकहरूको सहभागिता रहेको सो कार्यक्रममा गैंडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारी प्रमुख अतिथि रहनुभएको थियोे । उहाँले विद्यालयमा जुनियर युवा गतिविधि बढाउन जोड दिनुपर्ने बताउनुभयो ।

जिल्ला शाखा नवलपुरका उपसभापति उमा भुसालले रेडक्रस अभियानलाई अगाडि बढाउने मेरुदण्ड शिक्षक नायकहरू रहेको बताउनुभयो ।

 गँैडाकोट नगरपालिका वडा नं ३ का वडाध्यक्ष एवम् नगरका प्रवक्ता शिवकान्त तिवारीले रेडक्रस गतिविधि र अभियानमा आफ्नो निरन्तर साथ र शुभेच्छा रहने बताउनुभयो । उपशाखा सचिव विष्णुप्रसाद सापकोटाको सहजीकरण रहेको सो कार्यक्रममा जिल्ला शाखा नवलपुरका उपमन्त्री निराजनप्रसाद चौधरीले प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षण सहयोगीहरूमा उपशाखाका उपसचिव दोलराज पाण्डे र सदस्य गोविन्द रिमाल रहनुभएको थियो । 

कार्यक्रममा रेडक्रस अभियान र जुनियर युवा रेडक्रस गतिविधिबारेमा प्रकाश पारिएको थियो । कार्यक्रममा गैंडाकोट नगरपालिका विधायन समितिका संयोजक ज्ञानप्रसाद खनाल, रेडक्रस उपशाखाका कोषाध्यक्ष माधवप्रसाद सिग्देल, रेडक्रसकर्मीहरू खुमनाथ पौडेल, खगेश्वर गौडेल, बामदेव घिमिरे, निर्मलराज पाण्डे, सूर्यनाथ तिवारी, गोकुल सिलवाल, सुस्मिता आचार्य, नरबहादुर मोक्मी, लगायतको उपस्थिति रहेको थियो ।

सन् १८२८ मे ८ तारिखका दिन स्वीजरल्याण्डको जेनेभा सहरमा जन्मेका जाँ हेनरी ड्युनाको स्मृतिमा विश्वभर रेडक्रस दिवस मनाउँदै आइएको छ ।