गैँडाकोटका अति संवेदनशिल उद्योगमा अनुगमन, तेल र खानेपानी सुरक्षामा ध्यान दिन सचेत

२०८१ बैशाख २६ बुधबार १७:२८:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोटका अति संवेदनशिल उद्योगमा बुधबार अनुगमन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौली र गैँडाकोट नगर स्तरीय अनुगमन टोलीले तेल उत्पादन तथा प्याकेजीङ उद्योग र खानेपानी उद्योगहरुमा संयुक्त रुपमा अनुगमन गरेका हुन् । गैँडाकोट ७ मा रहका तीनओटा तेल र खानेपानी उद्योगको निरीक्षण गरेका छन् । 

गैँडाकोट ७ स्थित कालिका रिफाइनरी उद्योगमा निरीक्षणपछि उद्योगले वातावरणीय प्रभाव मूल्याङ्कन गरी व्यवस्थित रुपमा सञ्चालन गरेको पाइए पनि केही सुझाव पेश गरेको छ । उद्योगबाट निस्कने लेदोजन्य पदार्थ कम्पाउण्ड बाहिर अव्यवस्थित रहेको पाइएकोले सो क्षेत्रमा तारबार गरी वस्तु तथा व्यक्ति जान नमिल्नेगरी व्यवस्थापन गर्न सुझाव दिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय दमौलीका खाद्य अनुसन्धान अधिकृत ज्योती आचार्यले जानकारी दिनुभयो ।  

नगर स्तरीय अनुगमन टोलीका संयोजक एवं गैँडाकोट नगर उपप्रमुख शान्ति कोइरालाले उद्योगले मापदण्ड र प्रक्रिया नै पुराएर गरिएको पाइएकोले भोलीका दिनमा हुन सक्ने प्रदुषणप्रति सचेत गराउनुभयो । उद्योग सञ्चालक दिपक सापकोटाले नागरिकको स्वास्थ्यप्रति उद्योग सजग रहेको बताउँदै कम्पनीको तर्फबाट कुनै कमि हुन नदिने र त्यो गुणस्तरीयता कायम राख्ने बताउनुभयो । 

त्यस्तै टोलीले गैँडाकोट ७ मा नै रहेको लक्ष्मी नारायण आयल एण्ड रिफाइनरी प्याकेजिङ उद्योगको पनि अनुगमन गरेको छ । यहाँ आफ्नो तेल परीक्षणको पनि कन्ट्रोल नमुना उद्योगमा राख्न सुझाव दिएको छ । फोहर व्यवस्थापन आफ्नै परिसरमा राख्नहुन सजग गराएको छ । उद्योग सञ्चालक अशोक रिजालले प्राप्त सुझावलाई कार्यान्वयनमा लैजाने बताउनुभयो । 


त्यसैगरी ओम सुधा खानेपानी उद्योग गैँडाकोट ७ मा अनुगमन गर्दै सरसफाईमा ध्यान दिन आग्रह गरेको छ । सुद्धिकरण प्लान्टमा आवश्यक मेशिनरी सामग्री व्यवस्थित गर्न सचेत गराएको छ । 

अनुगमनका क्रममा उत्पादनमा प्रयोग हुने मेशिनरी औजार, कच्चा पदार्थ, ल्याब परीक्षण रिपोर्ट, सरसफाई, अभिलेख, कागजपत्रहरु हेरेको थियो । अनुगमन टोलीमा गैँडाकोट नगर उपप्रमुख शान्ति कोइराला, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय दमौलीका खाद्य अनुसन्धान अधिकृत ज्योती आचार्य, गैँडाकोटका आर्थिक विकास शाखा प्रमुख देवेन्द्र गौतम, कृषि अधिकृत राजु प्रसाद शर्मा, जिन्सी शाखा प्रमुख, इश्वरी आचार्य, पत्रकार थिए । टोलीले यसअघि मुकुन्दपुर क्षेत्रमा उद्योगको अनुगमन गरेको थियो ।