विपन्न वर्गका अपाङ्गता भएका बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण 

२०८१ बैशाख २७ बिहीबार १६:२०:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट नगरपालिकाले गैँडाकोटका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विपन्न वर्गका अपाङ्गता भएका बालबालिका र अपाङ्गता भएका परिवारका बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । 

नगरपालिका परिसरमा आयोजित कार्यक्रममा नगरपालिकाका ६५ जना बालबालिकाहरुलाई पोशाक, झोला, कपी, कलम, ज्यामिट्री बक्स लगायतका शैक्षिक सामग्री वितरण गरेको हो । उक्त सामग्री २६ जना अपाङ्गता भएका व्यक्ति र बाँकी ३९ जना अपाङ्गता भएका परिवारका बालबालिकाहरुलाई प्रदान गरिएको महिला बालबालिका तथा समाज कल्याण उपशाखा प्रमुख एवं अपाङ्गता समन्वय समिति सदस्य सचिव सिता कुमारी लामिछानेले जानकारी दिनुभयो । उहाँले विद्यालयको सिफारिसका आधारमा नगरपालिकामा रहेको अपाङ्गता भएका त्यो पनि विपन्न समुदाय परिवारका बालबालिकाहरु छनोट गरिएको जानकारी दिनुभयो । 

शैक्षिक सामग्री वितरण कार्यक्रमका अध्यक्ष, अपाङ्गता समन्वय समिति संयोजक एवं गैँडाकोट नगर उप प्रमुख शान्ति कोइरालाले निम्न आय भएका, अपाङ्गता भएका व्यक्तिहरुको शैक्षिक विकासमा सहयोग पुगोस् भन्ने हेतुले सहयोग गरिएको बताउनुभयो । प्राप्त साम्रगीको सहि सदुपयोग गर्न उहाँले आग्रह गर्दै उनीहरुको भविष्य उज्जवल बनाउन सबैलाई भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । 

प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र खनालले स्थानीय सरकारसँग धेरैको ठूलो अपेक्षा रहेको बताउँदै सिमित स्रोतका बाबजुद पनि सहयोग प्रदान गरिएको बताउनुभयो । नगर क्षेत्रका फरक क्षमता भएका व्यक्ति र परिवारका बालबालिकालाई आगामी दिनमा पनि जीवनसँग जोडिएका क्षेत्र र कार्यक्रम पहिचान गरी सहयोग गर्ने बताउनुभयो । 
सामाजिक विकास समिति संयोजक रत्नप्रसाद सापकोटाले गैँडाकोट नगरपालिकले प्रदान गर्ने यस सामग्रीले अपाङ्गता भएका व्यक्तिको शैक्षिक गतिविधि एवं पठनपाठनमा ठूलो सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रममा आर्थिक विकास शाखा प्रमुख देवेन्द्र गौतम, लेखा शाखा प्रमुख विष्णु प्रसाद भुसाल लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजिकरण महिला बालबालिका तथा समाज कल्याण उपशाखा सहायक चौँथो मधुमाया रानाभाटले गर्नुभएको थियो ।